पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार (फागुन २५) काठमाडौँमा निकालिएको जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्बिर प्रदर्शन गरेपछि विवादमा परेका प्रदीपविक्रम राणा नेपालमा असुरक्षित भएको भन्दै भारत पुगेका छन्।
उनले भारतीय पत्रिका नवभारत टाइम्ससँग उक्त प्रकरणपछि प्रहरी आफ्नो पछि लागेकाले भारत भाग्नुपरेको बताएका छन्। उक्त पत्रिकाका अनुसार ५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर भारतको गोरखपुर पुगेका हुन्।
उनले आफ्नो ठेगाना काठमाडौँ वडा नम्बर १६ बताएका छन्।
उनले आफूलाई भारत सरकार र योगीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप नेपाल प्रहरीले लगाएको नवभारत टाइम्ससँग बताएका छन्।
उनले भनेका छन्, ‘यही कारण प्रहरी मेरो पछि लागेकाले भागेर भारत आउनुपर्यो।’
राप्रपाका एक नेताले पनि नेपालखबरसँग कुरा गर्दै प्रदीपविक्रम राणा भारत गएको पुष्टि गरेका छन्। राणा पहिले राप्रपाकै नेता रहे पनि अहिले भने उनलाई राप्रपाका नेताले आफ्नो पार्टीको नभएको दाबी गरिरहेका छन्।
प्रदीपले भारतीय पत्रिकासँग भनेका छन्, ‘मार्च ९ (फागुन २५) मा हाम्रा राजा ज्ञानेन्द्रविक्रम शाह (पोखराबाट काठमाडौँ) फर्किएका थिए। उहाँलाई स्वागत गर्न हजारौँको संख्यामा (त्रिभुवन) विमानस्थलमा उपस्थित थिए। यस अवधिमा मैले राजा साहेब र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर सँगै राखेको थिएँ। मलाई विश्वास छ- योगीजी हिन्दु र हिन्दुत्वका लागि निरन्तर लडिरहनुभएको छ। उहाँ हामी सबैका विश्वव्यापी नेता हुनुहुन्छ। धार्मिक मान्यताअनुसार पनि म उहाँलाई असाध्यै मन पराउँछु।’
तर आफूले अहिलेसम्म योगी आदित्यनाथलगायत भारतका कुनै पनि राजनीतिक नेतालाई नभेटेको दाबी उनले गरेका छन्।
उनले आफ्नी एक छोरी पाइलट र छोरा डाक्टर रहेको सुनाएका छन्। बुबा अहिले पनि आर्मीमै रहेको उनले बताएका छन्।
आर्थिक तथा सामाजिक रूपमा आफ्नो परिवार निकै सम्पन्न रहेको पनि उनले भारतीय पत्रिकासँग भनेका छन्।
उनले भनेका छन्, ‘ठूलो मुस्किलले म त्यहाँबाट लुकेर भागेँ। नेपालमा राजतन्त्र फिर्ता ल्याउने र नेपाललाई हिन्दु राष्ट्र बनाउने मेरो लडाइँ अन्तिम साससम्म जारी रहनेछ।’
राणाले वर्तमान सरकार नहटाएसम्म नेपाल नफर्किने पनि बताएका छन्।
Shares

प्रतिक्रिया