नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका दुई नेता रिहा भएका छन्।
सर्वोच्च अदालको आदेशमा केन्द्रीय सदस्य नवीन विश्वकर्मा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय रिहा भएका हुन्।
बुधबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले उनीहरुलाई छाड्न बुधबार नै पत्रचार गरिसकिएको बताए। उपाध्याय गत साउन १३ गते र विश्वकर्मा असोज ८ गते काठमाडौंबाट पक्राउ परेका थिए।
काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरे पनि प्रहरीले पुनः पक्राउ गरेको थियो। अदालतको आदेशको अवज्ञा गरेको भन्दै सर्वोच्चले प्रहरी नेतृत्वसँग जवाफ मागेको थियो।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जवाफ दिँदै अरु नै मुद्दामा पक्राउ गरिएको जिकिर गरेका थिए।

प्रतिक्रिया