राजनीति


प्रतिक्रान्तिकारीलाई परास्त गर्ने जिम्मा हाम्रो काँधमा आएको छः प्रचण्ड

प्रतिक्रान्तिकारीलाई परास्त गर्ने जिम्मा हाम्रो काँधमा आएको छः प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १३:९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मा फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन्। 

माओवादीको सहायक संगठन वाईसीएलको बैठक उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक होइन,’ प्रचण्डले भने, ‘त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हो।’

अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले स्पेस पाएको महसुस गर्न थालेका उनको भनाई छ। ‘यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्छ,’ प्रचण्डले भने। 

माओवादीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरेको प्रचण्डले बताए। 

‘अहिले त्यही संघर्षको विन्दु सुरु भएको छ। गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्छ,’ प्रचण्डले भने, ‘युवाहरुलाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवालाई अग्रगमनका लागि थप सचेत र संगठति हुन आग्रह गर्दछु।’

वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै उनले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गरी संविधानलाई अझै परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिंदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्नु आजको प्रमुख आवश्यकता भएकोमा जोड दिए। 

‘प्रतिक्रियावादी शक्तिहरुसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको छ,’ उनले भने, ‘परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित पार्टीले गत केन्द्रीय समिति बैठकबाटै गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरिसकेको छ।’

यसका लागि पार्टीले जनतासँग माओवादी अभियान सुरु गरिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अग्रमोर्चामा युवालाई नै राखिएको र वाईसीएल पनि देशव्यापी लाखौं युवालाई तम्तयार अवस्थामा राख्नुपर्ने बताए। 

पछिल्लो पटक सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय  समृद्धिको पक्षमा गरेका पहलका कारण जनतामा सकारात्मक वातावरण बन्दै गएको र पार्टीले जनस्तरबाटै समाजवाद निर्माणको पहल थालेको दाबी उनले गरे। 

‘यसले युवाहरुलाई पनि आकर्षित गर्दै लगेको छ,’ प्रचण्डले भने, ‘झापाबाट रौतहटसम्म अभियान पुग्दा हजारौं नयाँ युवाहरु हाम्रो पार्टीमा गोलबन्द हुनुले त्यसको पुष्टि गर्छ।’ उनले वाईसीएललाई संघर्ष र उत्पादनको मोर्चा अगाडि बढाउन पनि निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad