नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही आइपुगेको छ।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै आज सर्लाही आएको हो।
आजै सर्लाहीका विभिन्न कार्यक्रम सकेर अभियान रौतहट जाने तालिका छ। अभियानका जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको माओवादी नेताहरुले बताएका छन्।
हरेक दिन बिहान ६ बजे मर्निङवाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन्। अभियानको क्रममा कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुलाई स्वागत गर्ने गरेका छन्।
सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीले संयुक्त स्वागत कार्यक्रम राखेका छन्। सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी छन्।
हुलाकी मार्गमा पर्ने स्थानीय तहले अभियान टोलीलाई स्वागत गरिरहेका छन्।

जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर स्वागत गर्ने गरेका माओवादीका एक नेताले जानकारी दिए।
आज सर्लाहीमा अभियान टोली बिहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो। त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मङ्गलवामा जनसभा हुँदैछ।
Shares

प्रतिक्रिया