देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयन गर्न चैत २३ गते मतदान हुँदै छ। यसका लागि निर्वाचन समितिले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। तालिकाअनुसार, फागुन २२ गते बिहीबार उम्मेदवारी दर्ता गराउनुपर्नेछ।
योसँगै विभिन्न दलनिकट संगठनमा उम्मेदवारको टिकटका आकांक्षीहरू विभिन्न कसरत गरिरहेका छन्। कानुन व्यवसायीका ती संगठन र माउ पार्टीहरूलाई पनि उम्मेदवारी टुंग्याउन सकस भइरहेको छ।
त्यसो त ती संगठनहरूबीच के कस्तो गठबन्धन र तालमेल हुन्छ भन्ने यकिन भइसकेको छैन।
यसअघि सर्वोच्च अदालत बार एसोसिएसन र कानुन व्यवसायी परिषद्मा भएको चुनावमा बनेको गठबन्धनकै निरन्तरता हुने हो भने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट संगठनहरूको एउटा प्यानल बन्नेछ भने नेकपा एमाले, माओवादी लगायत अन्य संगठनहरू अर्को खेमामा उभिनेछन्।
जेजस्तो समीकरण भने पनि नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले अध्यक्षको टिकटका आकांक्षीहरूसँग आवेदन मागेको छ।
नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक, अध्यक्षका उम्मेदवारले ६० हजार तिर्नुपर्ने
हालसम्म डीएलएका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता यदुनाथ खनालले मात्र आवेदन दिएका छन्। खनालको घर तनहुँ हो। उनी राष्ट्रपति रामचन्द्र पौडेलका पनि निकटस्थ मानिन्छन्। त्यसैले उनलाई राष्ट्रपतिकै उम्मेदवारका रूपमा समेत चर्चामा ल्याइएको छ।
डीएलएबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, माधव बाँस्कोटा, योगेन्द्रबहादुर अधिकारी र खम्मबहादुर खातीले पनि आकांक्षा देखाएका छन्। यीमध्ये मिश्र, बाँस्कोटा र खाती यसअघि बारका महासचिव भइसकेका हुन्। अधिकारी डीएलएका पूर्वअध्यक्ष हुन्। बाँस्कोटा र खाती कांग्रेस सरकारमा छँदा विभिन्न नियुक्ति तथा अन्य अवसरहरू बढी प्राप्त गरेका कानुन व्यवसायीमा गनिन्छन्।
बाँकी आकांक्षीले भोलिसम्म आवेदन दिने तयारी गरेका छन्। मिश्र भन्छन्, ‘म भोलि मंगलबारको शुभ साइत पारेर दाबेदारी प्रस्तुत गर्छु।छनोट समितिले जसलाई उपयुक्त ठान्छ, उसैलाई मानेर अघि बढ्नुपर्छ।’
कांग्रेस पार्टीभित्रको समीकरण के कस्तो बन्छ भन्ने आधारमा पनि उनीहरूमध्ये कसले टिकट पाउँछन् भन्ने कुरा निर्धारण गर्न सक्ने डीएलएका एक नेताले नेपालखबरसँग बताए।
डीएलएले उम्मेदवार छनोटका लागि १२ सदस्यीय समिति पनि बनाएको छ।
डीएलए अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको समितिमा विनय सिंह, गोपालकृष्ण घिमिरे, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, हरिहर दाहाल, बाबुराम कुँवर, भरत खरेल, ज्ञानेन्द्र अधिकारी, जगन्नाथ ढकाल, प्रेमबहादुर खड्का र सुजन लोप्चन छन्।
अध्यक्ष केसीले नेपालखबरसँग भने, ‘देशैभरिका डीएलएमा आबद्ध साथीहरूमध्ये कसको रुचि र दाबी केमा छ, कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हेर्छौँ। बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने प्रयासमा छौँ। त्यसैले मिल्न आउने संगठनको पनि चित्त बुझाउनुपर्ने हुन्छ। सकेसम्म सबैलाई मान्य हुने गरी निर्णय गर्छौँ।’
Shares

प्रतिक्रिया