राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तनविरोधी पश्चगामी शक्तिहरुले टाउको उठाउन खोजिरहेको बताएका छन्।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतामा बढिरहेको निरासामाथि खेल्दै परिवर्तनविरोधी र पश्चगामी शक्तिहरूले टाउको उठाउने र गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्र गरिरहेको बताएका हुन्।
जनताले खोजेको शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि भएको चर्चा गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा निराशा बढिरहेको बताए।
'मौलिक हकको रूपमा प्रष्ट उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले खासै उपभोग गर्न नपाउँदा निरासा बढिरहेको छ', अध्यक्ष दाहालले भने, 'जनतामा बढिरहेको निरासामाथि खेल्दै परिवर्तनविरोधी र पश्चगामी शक्तिहरूले फेरि टाउको उठाउने र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै धावा बोल्ने षड्यन्त्रप्रति भने हामी सबै सचेत हुन जरूरी छ।'
राष्ट्रको विकासको मेरूदण्ड शिक्षा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले शिक्षित र दक्ष जनशक्तिले राष्ट्रको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरूको साझा प्रयासबाट मात्रै शिक्षामा देखिएको अराजकता कम गर्न सकिने भन्दै उनले त्यसले मात्रै शैक्षिक गुणस्तर बढाउन र अनुशासित, कतर्व्यनिष्ठ जनशक्ति उत्पादन गर्न सकिने बताए।
विद्यालय भवन, शैक्षिक सामग्रीलगायत भौतिक पूर्वाधारको अभाव, शिक्षकको दरबन्दी नहुनु, गरिबी र असमानताले ग्रामीण क्षेत्रमा मुख्य समस्याको रुपमा रहेको र यस्ता समस्याको समाधान गर्न सबैको साझा पहलकदमी र योगदान आवश्यक रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया