राजनीति


आरती लामासँग रिसाएर जब माधव नेपाल झोक्किँदै मञ्चबाटै तल झर्न खोजे...

आरती लामासँग रिसाएर जब माधव नेपाल झोक्किँदै मञ्चबाटै तल झर्न खोजे...

नेपालखबर
फागुन १०, २०८१ शनिबार १७:४७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पूर्ण बैठक दुई दिनदेखि ललितपुरमा जारी छ।

स्टाफ कलेजमा जारी बैठकमा केन्द्रीय समिति सदस्यहरूले बोल्ने क्रम चलिरहेको छ। 

शनिबार जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो, बैठकको माहोल नै असहज बन्न पुग्यो।

आरतीले भर्खरै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी थिइन्। उक्त अपानिमार्फत दोहोरो जिम्मेवारी नहुने भन्दै अनेरास्ववियु र युवा संघको नेतृत्व हटाइएको थियो।

आरती अनेरास्ववियुकी अध्यक्ष थिइन्। नेपालले अपानिबाटै उनलाई हटाएर महेश श्रेष्ठलाई अध्यक्ष बनाएको जानकारी प्रवाह गरेका थिए। युवा संघको अध्यक्षबाट कृष्ण विकलाई हटाए पनि नयाँ नेतृत्व भने तोकिएको छैन।

‘यसमा म प्रश्न गर्न चाहन्छु, किन यसरी माथिबाट नेतृत्व परिवर्तन गरियो? एक शब्द नसोधी किन हटाइयो?’ आरतीले भनिन्।

उनले यति के भनेकी थिइन्, मञ्चमा रहेका पार्टी अध्यक्ष माधव नेपाल एकाएक झोँक्किए। 

‘अपानिका विषयमा यहाँ प्रश्न गर्न पाइँदैन, अरु कुरा गर्नुहोस,’ नेपालले भने।

आरती आफ्नो भनाइलाई पुष्ट्याइँका निम्ति थप तर्क गर्न खोज्दै थिइन्। तर, नेपालले उनलाई बोल्नै दिएनन्। यति मात्र होइन, ‘बढ्ता बोल्ने?’ भन्दै मञ्चबाट उठेर तल झर्न खोजे।

माधव नेपालको आक्रोशको पारो नियन्त्रण नभएपछि महासचिव घनश्याम भुसालले रोक्न खोजे। भुसालले नै नेपाललाई तल झर्नबाट रोके। सम्मानित नेता झलनाथ खनालले पनि शान्त पार्न खोजे।

निकैबेर गलफती चल्यो। नेपालको रवैयाबारे धेरै नेताहरूले कानेखुसी गरे।

‘उहाँ जुन रौद्ररुप देखाउनुभयो, त्यो एकदमै अस्वाभाविक थियो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेपालखबरलाई भने, ‘उहाँजत्तिको नेताले त्यसो नगर्नुपर्थ्यो। फ्लोरमा आउने सबै कुरा सुन्ने धैर्य देखाउनुपर्थ्यो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad