राजनीति


ऊर्जा उद्यमीलाई दु:ख दिने काम बन्द हुनुपर्छ : शेरबहादुर देउवा

ऊर्जा उद्यमीलाई दु:ख दिने काम बन्द हुनुपर्छ : शेरबहादुर देउवा

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८१ आइतबार १९:०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरूलाई भेट्दै ऊर्जा उद्यमीहरूलाई दु:ख दिने काम बन्द हुनुपर्ने बताएका छन्।

आइतबार आफ्नै निवास बुढानीलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भइसकेको र ६५ लाख सर्वसाधारण लगानीकर्ताले लगानी गरिसकेको क्षेत्रलाई सबैतिरबाट प्रहार भइरहेको भन्दै ऊर्जा उद्यमीहरूका समस्या समाधानका लागि देउवाको ध्यानाकर्षण गराए। 

विशेषगरी कार्कीले कार्यपालिकाले अध्यादेश ल्याएर संसदबाट अनुमोदन गराइसकेको विषयलाई अदालतबाट खारेज गरिदिंदा यसले ४५ हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रभावित भएको, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ७४ वटा कम्पनीको सार्वजनिक निष्कासन रोकिएको र विद्युत् ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत् विधेयकमा ३५ वर्ष मात्र राखिएकोले यसलाई सच्याउने विषयमा देउवाको पहलकदमी आवश्यक रहेको बताए। 

संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणमा रोक लगाउने गरी आएको सर्वोच्चको आदेशले नेपालमा विकास निर्माणका सबै काम ठप्प हुने भन्दै कार्कीले बेलायत, अमेरिका लगायतका देशमा पनि यस्तो समस्या आएपछि जलविद्युत लाई लागू नहुने भनेर फैसला भएका उदाहरण देउवालाई स्मरण गराए।

इप्पानका महासचिव बलराम खतिवडाले ६५ लाख सर्वसाधारण र प्रवर्द्धकका साथै बैंक तथा वित्तीय संस्थाबाट समेत गरी १५ खर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको क्षेत्रलाई चलाउँदा यसले अर्थतन्त्रमै समस्या ल्याउन सक्ने बताए। उनले ४२ वटा कम्पनीको आईपीओ र ४१ वटा कम्पनीको एफपीओ गरी ५६ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन रोकिएकोले यो विषय फुकाउनको लागि पनि निर्देशन गरिदिन देउवासँग आग्रह गरे।

इप्पान कार्यसमिति सदस्य भरत पराजुलीले अदालतबाट संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्नै नपाउने आदेश हुन्छ भने कार्यपालिकाले ऐन संशोधन गरेर जलविद्युत आयोजना र केबलकार निर्माण हुने क्षेत्रमा राष्ट्रिय निकुञ्ज ऐन लागू हुने छैन भनेर कानुन बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad