प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।
यसैबीच आजै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूलाई अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।
उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना भएका थिए।
यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका हुन्।
Shares

प्रतिक्रिया