राजनीति


माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ: वर्षमान पुन

‘गिरीबन्धुदेखि शेरा दरबारसम्म छानबिन गरौँ’
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ: वर्षमान पुन

नेपालखबर
फागुन १, २०८१ बिहिबार १९:१०, खोटाङ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन्।

३०औँ जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले एकीकृत समाजवादी र माओवादीको कार्यदिशामा समानता रहेको बताए।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरू रहेको पुनले बताए।

‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रूपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरूसँग पनि एकता हुन्छ। हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौँ।’

उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि कम्युनिस्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे। पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिए।

कांग्रेस र एमालेप्रति जनताको मोह भंग भएको र विकल्पका रूपमा आफूहरूलाई छान्ने अवस्था बनेको दाबी उनको छ। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा माओवादी उम्मेदवारले कांग्रेस-एमालेका साझा उम्मेदवारलाई हराएर जित हासिल गरेबाट उक्त तथ्य पुष्टि हुने तर्क पुनले गरे।

‘०८४ मा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा हामी एक्लै लड्ने छौँ, यसमा कसैलाई पनि भ्रम नहोस् कि हामी अब एक्लै अगाडि बढेका छौँ’, पुनले भने, ‘हामी एक्लै जनताको जनमत लिन सक्ने भएका छौँ। करिब-करिब ०६४ को जस्तै उभार देखिन थालेको छ।’

प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा भ्रष्टाचार नियन्त्रण, राज्य दोहन र बिचौलिया प्रवृत्तिविरुद्ध तथा सुशासनका पक्षमा कदम चालेका कारण जनतामा कांग्रेस र एमालेसँगको सहकार्यले पनि माओवादी बिग्रिएको रहेनछ भन्ने मनोविज्ञान विकास भएका दाबी पुनले गरे।

‘हामीले भ्रष्टाचार, अनियमितता, राज्य रोहन र बिचौलियामाथि प्रहार गरेर अघि बढ्ने बाटो लिएका छौँ’, पुनले भने, ‘कांग्रेस र एमाले बिचौलियाको र स्वार्थ समूहको ‘इन्ट्रेस्ट’मा चलेका कारण हाम्रो बाटो फरक भएको छ।’

राज्यमा कानुन सबैलाई बराबरी हुने भए पनि सत्तापक्षकालाई एक प्रकारको तथा विपक्षी र आमसर्वसाधारणका लागि फरक खालको कानुनको अभ्यासजस्तो देखिएको टिप्पणी उनले गरे।

‘हामी प्रधानमन्त्री, मन्त्री, नेता र उच्च पदमा बसेको कर्मचारी सबै कानुनका नजरमा बराबर हुनुपर्छ भन्छौँ। उहाँहरू होइन, फरक हुुनुपर्छ भन्नुहुन्छ। आफ्नालाई जोगाउने र अरूमाथि अनुसन्धान र अभियोजन गर्ने भन्नुहुन्छ। हाम्रो नमिलेको यहाँ हो’, पुनले भने।

पुनले प्रधानमन्त्री केपी ओलीको नाम जोडिएका गिरीबन्धु, यति, ओम्नी, कम्बोडियाको लगानी र स्विस बैंकमा रकम राखिएको भन्ने विषय तथा लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरा दरबार प्रकरणको सँगसँगै छानबिन अघि बढाउन माग गरे।

‘गिरीबन्धु, यति, ओम्नी, स्विस बैंक, कम्बोडियाको लगानीसहित क्यान्टोन्मेन्ट र शेरा दरबारको पनि छानबिन गरौँ’, उनले भने, ‘हाम्रो कोही मुछिएको रहेछ भने पर्छ। तर, हामीलाई तर्साउन तिम्रो पनि छ भन्नेजस्ता कुरा हामी मान्दैनौँ। छ भने छानबिन गरे हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad