पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ को रुपमा मनाउने भएको छ।
भ्रमण वर्षको यही फागुन ३ गते शनिबारका उद्घाटन गरिने छ। आन्तरिक र बाह्य गरी यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागिएको हो। भ्रमण वर्षमा पर्यटकहरुलाई विभिन्न छुट पनि दिइने छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्षका कार्यक्रमहरु चालु अंग्रेजी वर्षको जनवरीबाटै सुरु भएको बताए।
तीनवटै तहका सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर पोखरामा भित्रिने पाहुनाको आकार बढाउनका लागि भिन्दै प्याकेज तयार पार्ने पनि उनले बताए। पोखरालाई अघिल्लो वर्षको चैत ४ गते पर्यटकीय राजधानी घोषणा गरिएको थियो।
‘भ्रमण वर्षभरि नै पोखराको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुनेछन्,’मेयर आचार्यले भने, ‘विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना छ।’
वर्षैभरी अभियानका विभिन्न गतिविधि संचालन गर्नका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ७३ सदस्यीय एक निर्देशक समिति र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा २० सदस्यीय कार्य सम्पादन समिति र अन्य ४३ समिति गठन गरिएको छ।
पोखरालाई अझै समृद्ध बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा पूरा गर्नु पर्ने विभिन्न काम तथा योजनाहरूको लामो व्याख्यासहित पर्यटन राजधानी घोषणा कार्यक्रमका लागि गठित विज्ञहरुको समुहबाट तयार दस्तावेज र प्रतिवेदनलाई पूर्णरूपमा अङ्गीकार गरिएको मेयर आचार्यले बताए।
भ्रमण वर्षको अवसरमा संसार भरका विदेशी, गैरआवासीय नेपाली तथा स्वदेशी पाहुनाहरूलाई सपरिवार तथा इष्टमित्र सहित पोखरा भ्रमण गर्न आह्वान गर्ने, विकास साझेदार, विदेशी नियोग तथा राजदूतावासहरुसँग समन्वय गरी संसारका विभिन्न सहरहरूमा पोखरा बारे व्यापक प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने, भ्रमण वर्षको अवधिभर स्वदेशका ५ वटा र विदेशका ५ वटा गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने,पर्यटन क्षेत्रलाई लक्षित गरी लगानी टुरिजम ईन्भेष्मेण्ट समिटको आयोजना गर्ने घोषणा पनि गरिएको छ।
यस्तै,मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड दस्तमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अग्यानिक ट्रेल तथा रोयल ट्रेलको पुनः उत्बानलगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गरिने पनि मेयर आाचार्यले बताए।
Shares

प्रतिक्रिया