राजनीति


रामजीलाई इन्चार्जबाट हटाएपछि कास्की माओवादीमा भुइँचालो

थामिएन जिल्लाभित्र र बाहिरको विवाद, पार्टी झन् कमजोर हुने चेतावनी
रामजीलाई इन्चार्जबाट हटाएपछि कास्की माओवादीमा भुइँचालो

वाशुदेव मिश्र
माघ २९, २०८१ मंगलबार २१:४२, पोखरा

२०६१ साल सशस्त्र संघर्षमा रहेको माओवादी कास्कीका निम्ति बिर्सनलायक रह्यो। ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति अनुसार अगाडि बढेको माओवादीलाई तत्कालीन शाही नेपाली सेनाले ठूलो क्षति पुर्‍यायो।

२०६१ सालमै त हो, कास्की इन्चार्ज राजविक्रम भुर्तेल र उनकी पत्नी सीता भुर्तेललाई पामेको एउटा सेल्टरमा सेनाले गोली ठोकेको। त्यसलगत्तै माओवादीले विद्यार्थी राजनीतिबाट उदाएका विजय ढकाललाई इन्चार्जको जिम्मेवारी दियो। तर, राजनीतिमा ठूलो सम्भावना बोकेका विजयलाई पनि २०६१ साल पुस २९ गते कास्कीकै निर्मलपोखरीस्थित साम्नी भन्ने ठाउँमा सेनाले हत्या गर्‍यो।

एकपछि अर्को नेताको हत्यापछि तत्कालीन पार्टी नेतृत्वले कास्की इन्चार्जको जिम्मेवारी अमर तमुको काँधमा थमायो। प्रभा अधिकारीले पनि केही समय कास्कीको नेतृत्व गरिन्। २०६२÷०६२ को आन्दोलन सफल हुँदासम्म अमर पार्टी इन्चार्ज थिए भने राजकाजी गुरुङ कास्की सचिव थिए। आन्दोलन सफल भएपछि पहिलोपटक अमर र राजकाजी नै माओवादीको रूपमा सार्वजनिक मञ्चमा झुल्किए। पातला र ख्याउटे तर आँखामा विद्रोहको ज्वाला बोकेका यी दुई नेता नै माओवादीका ‘मानक’ बने। 

२०६४ सालको संविधान सभा चुनावमा माओवादीले कास्कीमा अभूतपूर्व विजय हासिल गर्‍यो। कास्की क्षेत्र नम्बर १ बाट देव गुरुङ र २ बाट राजकाजी गुरुङ र ४ बाट दुर्गा विक संविधान सभा सदस्य बने। कास्की क्षेत्र नम्बर ३ मा चाहिँ एमालेका रवीन्द्र अधिकारी विजयी बने। 

क्रान्तिको राप र ताप बोकेका जुझारु कार्यकर्ता परिचालन तथा माओवादीप्रतिको जनआकर्षणले त्यो जित सम्भव भएको थियो। त्यसपछि मनाङ र कास्कीबाट विजयी देव गुरुङले कास्की क्षेत्र नम्बर १ छाडे। त्यसमा माओवादीले कृष्णबहादुर गुरुङलाई उम्मेदवार बनायो। उनी पनि विजयी बने। 

त्यसपछि भने माओवादी ओरालो लाग्यो।  

दोस्रो संविधान सभा चुनावमा माओवादी बढारियो। कास्की क्षेत्र नम्बर १ र २ बाट नेपाली कांग्रेसका क्रमशः यज्ञबहादुर थापा र शारदा पौडेल तथा ३ र ४ बाट एमालेका क्रमशः रवीन्द्र अधिकारी र सीता गिरी ओली विजयी बने। 

२०७४ सालको आम निर्वाचनमा माओवादी एमालेसँग गठबन्धनमा थियो। पार्टी एकीकरण गरी नेकपा बनाउने अभियानसँगै उसले त्यो बेला संघतर्फ कुनै सिट लिएन। प्रदेशतिर भने रामजी बराल ‘जीवन’ र दीपक कोइराला प्रत्यक्षतर्फ निर्वाचित भए। कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राजकाजी गुरुङ चाहिँ कांग्रेस उम्मेदवार विन्दुकुमार थापासँग पराजित रहे। 

२०७९ को चुनावमा माओवादी–कांग्रेस गठबन्धन बन्यो। त्यो गठबन्धनबाट पनि संघतर्फ माओवादीले कास्की क्षेत्र नम्बर ३ पायो। त्यसमा रामजी बराल उम्मेदवार बने तर उनी एमाले नेता दामोदर बैरागीसँग पराजित भए। 

प्रदेशतर्फ कास्की क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवार बनेका दीपक कोइराला एमालेका खगराज अधिकारीसँग पराजित भए। कास्की  क्षेत्र  २ ‘क’ बाट उम्मेदबार बनेका विश्वप्रकाश लामिछाने पनि एमालेका भीम कार्कीसँग पराजित बने। क्षेत्र नम्बर ३ ‘ख’मा उम्मेदार बनेका माओवादी नेता दुर्गादत्त भण्डारीको पनि उस्तै हाल भयो। उनले एमालेका गणेशमान गुरुङलाई परिणाम बुझाए। उनको विरुद्ध सहिद परिवारकी अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी थिइन्। 

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्र समानुपातिकतर्फ तेस्रो बनेको थियो। अन्तिम मत परिणाम अनुसार कास्कीबाट एमालेले ८२ हजार ६ सय ४८, कांग्रेसले ६० हजार ७ सय ८९ र माओवादी केन्द्रले १३ हजार ८ सय ८१ मत ल्याएको थियो। 

२०७९ को चुनावमा कास्कीबाट ११ हजार ४ सय ७५ मत मात्र पायो। प्रदेश सभातर्फ भने नेपाल समाजवादी पार्टीको समेत मत जोड्दा १३ हजार ५ सय ७४ मत पाएको थियो। प्रतिनिधि सभातर्फ रास्वपाले यो चुनावमा ४४ हजार ९ र कांग्रेसले ४२ हजार ६ सय ५२ मत प्राप्त गरेका थिए। प्रदेश सभामा कांग्रेसको ६५ हजार ९ सय ४९, कांग्रेसको ५९ हजार ५ सय र राप्रपाको १७ हजार ८ सय मत आएको थियो। 

२०६४ सालमा तहल्का मच्चाएको माओवादी केन्द्र किन ०७९ को चुनावसम्म आइपुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा पनि कमजोर बन्यो? 

उत्तरमा माओवादी नेताहरू भन्छन्, ‘नेताहरू विलासी बन्नु, कार्यकर्तामा निराशा छाउनु, जनतासँग जोडिन नसक्नु तथा पार्टीभित्र गुट र उपगुट हुनु।’

जनतासँग जोडिन नसकेको तथ्य त चुनावी परिणामले दिएकै छ। के माओवादी पनि अरु दलजस्तै गुट र उपगुटले बिग्रेको हो त? 

यतातिर हेरौँ। 

सोमबार दिउसोतिर माओवादी निकट पत्रकार कोमलनाथ बरालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘५० वर्षको अवधिमा पनि एउटा नेता जन्माउन सकेन, कास्कीले। धिक्कारौँ कि जस्तो लाग्यो, पदासीन नेताहरूलाई बधाई!’

उनको संकेत हालैको केन्द्रीय कमिटीको बैठकको निर्णयप्रति लक्षित थियो। माओवादी केन्द्रले आइतबार जारी गरेको सर्कुलर अनुसार कास्की इन्चार्जको पद गण्डकी प्रदेशका पूर्वसभामुखसमेत रहेका नेत्रनाथ अधिकारीलाई दिइएको छ । यसअघि कास्कीकै नेता रामजी बराल ‘जीवन’लाई सो जिम्मेवारी दिइएको थियो। पार्टीले एकाएक रामजीलाई हटाएर अर्कै भूगोलका नेत्रनाथलाई जिम्मेवारी दिनुमा पार्टीभित्रको गुटकै करामत भएको माओवादी नेताहरू स्वीकार्छन्। 

खासमा लामो समय कास्की इन्चार्ज रहेका राजकाजी गुरुङ ‘करण’ले २०८० सालको चैततिर सो जिम्मेवारीबाट बिदा लिए। अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकार हुन काठमाडौँ गएपछि खाली रहेको सो जिम्मेवारी रामजीलाई दिइयो। माओवादी स्रोतका अनुसार त्यो बेला कास्कीका अर्का नेता दीपक कोइराला ‘रूपक’ पनि सो पदका आकांक्षी थिए। नेताहरूबीच आलोपालोको सहमति बन्यो। तर, बीचमा रामजीले पद छाड्ेनन्। दीपकले आफू नै इन्चार्ज भएको घोषणा गरे। उनलाई पार्टीका नेता जनार्दन शर्माको साथ थियो।

पार्टीमा विवाद चुलिएपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पत्रमार्फत् रामजी नै इन्चार्ज भएको जानकारी गराए। यो असोजतिरको कुरा थियो। त्यसपछि पनि पार्टीभित्रको विवाद थामिएन। भुसको आगोजस्तो गुट–उपगुटको राजनीति चलिरह्यो। यसो हुनुमा जिल्लाबाहिर र भित्रको भन्ने भावनाले काम गरेको माओवादी नेताहरू नै स्वीकार्छन्। 

‘कास्कीमा लामो समयदेखि बाहिर र भित्रका भन्ने संघर्ष चलिरहेको छ। टकराव भएको विषय नै त्यही हो,’ हाल माओवादी परित्याग गरेका एक नेताले भने, ‘आपसमा मिल्ने अवस्था पनि छैन। आ–आफ्नो चुल्हो बालेका छन्।’

लामो समय कास्कीको नेतृत्व लिएका राजकाजी जन्मले पर्वतका हुन्। यस्तै अमर तमु गोर्खाका र दीपक कोइराला चितवनका हुन्। यहाँ रहेका दुर्गा विक, विश्वप्रकाश लामिछानेहरू पार्टीमा त छन् तर नेतृत्वमा छैनन्। लामो समय राजकाजीले नेतृत्व लिएको भन्दै गुनासो गर्नेहरू पार्टीभित्र रहे पनि उनीहरू सोझै उनको विरोध भने गर्दैनन्। पार्टी हेडक्वार्टर अर्थात् प्रचण्डसँग नजिक मानिने राजकाजी नै यहाँको पार्टी चलाउँछन्। यता, लडाकु पृष्ठभूमिबाट आएका दीपक कोइराला पार्टी नेता जनार्दन निकट छन्।  
 
कास्कीका खगेन्द्र काफ्ले, विष्णु पौडेलहरू कता छन् भन्ने थाहा छैन। अर्का नेता जीतबहादुर गुरुङ अमेरिका भास्सिएका छन्। सम्भावनायुक्त किरण थापाहरू बाबुरामको पार्टीमा छन्।  कास्कीकै अर्का सम्भावना बोकेका नेता गुप्तबहादुर हमाललाई पनि पार्टीले निष्क्रिय रहेको भन्दै पदमुक्त गरिसकेको छ। कास्कीकै झलकपाणि तिवारीहरू पनि मूलधारको राजनीतिमा छैनन्। यस्तोमा साँच्चै कास्की माओवादीमा जनस्तरमा भिजेका नेता नै छ्रैनन्। 

‘जनतासँग भिजेका नेता छैनन्, नजिकाले छिमेकीलाई समेट्न सक्छन्,’ एक नेताले भने, ‘गुटमा लाग्ने र भाग खोज्ने प्रवृृत्ति हुँदा कार्यकर्ता निराश छन् भने नेताहरू घर पोलेर खरानीमा होली खेलिरहेका छन्।’

एकाएक इन्चार्ज नै फेरिएपछि पुनः कास्की माओवादीमा भुइँचालो गएको छ। इन्चार्जबाट हटाइएका रामजीलाई कुनै जिम्मेवारी दिइएको छैन। त्यसो त, लामो समय इन्चार्जको जिम्मेवारी सम्हालेका राजकाजी पनि जिम्मेवारीविहीन छन्। तर, बढी निराश चाहिँ रामजी नै देखिएका छन्।

‘यसअघि मलाई कुनै्र जानकारी थिएन, एकाएक हिजो (आइतबार) पत्र आयो,’ उनले भने, ‘पार्टीले दिएको निर्देशन इमान्दार कार्यकर्ताको नाताले मान्नुपर्छ। मैले मानेको छु।’

उनले त्यसो भने पनि, उनी निकट नेताहरू भने त्यो कुरा मान्न तयार छैनन्। पार्टीको यो निर्णयले कास्कीमा माओवादी अझ कमजोर हुने उनीहरूको जिकिर छ।

‘स्थानीय मनोविज्ञानले काम गर्छ। यहाँका धेरै नेता कार्यकर्ता अरु पार्टी प्रवेश गरेका छन्। कोही निष्क्रिय भएको अवस्था छ। गुटबन्दी बढी भएकाले नै यस्तो भएको हो,’ ती नेता भन्छन्, ‘भन्न त यहाँका सबै नेताले आफू अध्यक्ष प्रचण्डकै हुँ भन्छन् तर कार्य विभाजनमा बेजिल्लाका मान्छे आउँदासम्म पनि उनीहरू मिल्दैनन्। दुर्भाग्य यही हो।’

उनले विवाद मिलाउन नेत्रनाथलाई जिम्मेवारी दिनु नराम्रो नभए पनि क्षमतामाथि चाहिँ प्रश्न उठाए। 

‘हिजो यहाँका दीपक कोइरालालाई गोरखा, राजकाजीलाई स्याङ्जा, रामजीलाई बागलुङ पठाउँदा उहाँ (नेत्रनाथ) आउनुभएकै हो,’ उनले भने, ‘मिलाउने भए त्यो बेला मिलाउन सकिन्थ्यो नि।’

माओवादीले गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ अधिकारी, स्याङजामा शैलेन्द्र घिमिरे, गोरखामा अमरबहादुर तमू, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र नवलपुरमा धनप्रसाद सापकोटालाई इन्चार्जको जिम्मेवारी सुम्पेको छ। 

म्याग्दीका रेशमबहादुर जुग्जाली मगर, बागलुङका धनबहादुर विक, तनहुँका मदन आलेलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।। यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका बागलुङका खगेन्द्र छन्त्याललाई केन्द्रीय आयोगमा जिम्मवारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad