सभामुख देवराज घिमिरेले संसद् बैठक सञ्चालनका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन्। सांसदले बोल्नेक्रममा नियमावली मिचेको आरोपमा प्रतिपक्षी सांसदले आपत्ति जनाएपछि बैठक अवरोध भएको थियो।
'सभामुखको कार्यकक्षमा छलफल जारी छ,'सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भने, 'एक घन्टादेखि छलफल जारी छ।' संसद् बैठक २:२०मा १५ मिनेका लागि स्थगित भए पनि यो समाचार तयार पार्दासम्म सुरु भएको छैन।
के भएको थियो?
प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरू विरोध जनाए।
आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिइन्। खतिवडाले रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाएकोबारे जवाफ दिइरहेका थिए। लगत्तै
उनले नियमापत्ति गर्दा संसद् नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाए। पराजुलीलेले सरकारले दुई तिहाइको धाक लगाउँदै संसद्लाई पेल्न खोजेको आरोप लगाए। उनले संसद् कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो? भन्दै प्रश्न गरे।
‘सरकार पक्षको यो पेलाई कस्तो हो? गरिमामय संसद् प्रक्रियाको लागि हामीसँग नियमावली छ। आकस्मिक समय, शून्य समय र विशेष समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो,' उनले भने, 'तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ? नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हा सम्माननीय सभामुख महोदय? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ।’
सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उनको भनाइ छ।
खतिवडालाई किन समयको दिइएको हो? भन्दै प्रतिपक्षीले प्रश्न उठाए। खतिवडालाई उपसभामुख इन्दिरा रानाले दुई मिनेटको समय दिएकी थिइन्। उनले कुन नियमावलीमा टेकेर समय दिएको भन्दै रास्वपा, माओवादीसहितका सांसदले आपत्ति जनाए। रास्वपा सांसद गणेश पराजुलीले खतिवडाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।
खतिवडा बोलेको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए। उपसभामुखले यसबारे ध्यानाकर्षण भएको बताउँदै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीहरूले उठेर आपत्ति जनाए।
केहीबेरमा सभामुख देवराज घिमिरे आएर बैठक १५ मिनेटका लागि स्थगित भएको सूचना सुनाए। सभामुखले विपक्षीलाई आफूले बोल्न समय पाउँदा ठिक र अरुले पाउँदा आपत्ति जनाउने काम गलत भएको प्रतिक्रिया पनि दिएका थिए।
Shares

प्रतिक्रिया