नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को जारी महाधिवेशनमा आज नयाँ नेतृत्वको लागि मतदान हुँदै छ।
अध्यक्षमा डा बाबुराम भट्टराईलाई ३५ वर्ष कान्छा नेत्रप्रसाद चापागाईँले चुनौती दिएका छन्।
१३ सय ६२ प्रतिनिधिले मतदानमा भाग लिनेछन्। मतदान केहीबेरपछि हुँदैछ।
डा. भट्टराईले चापागाईँको उम्मेदवारी परेपछि मोहनविक्रम सिंहसँग प्रतिस्पर्धा गरेको स्मरण गरेका छन्।
आफ्नै चेलाको चुनौती
दस वर्षको भूमिगत जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि डा भट्टराईले वैकल्पिक राजनीतिक शक्ति बनाउनुपर्ने बताएका थिए।
त्यसपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि उनले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति बनाए पनि।
माओवादी छोडेको झण्डै दस वर्ष हुन लाग्दा भट्टराईले राजनीतिमा निकै हण्डर र ठक्कर पनि खाएका छन्।
नयाँ शक्ति पार्टीलाई विभिन्न पार्टीसँग एकता गरेर ठूलो बनाउने प्रयास पटक-पटक गरे पनि सफल भएनन्।
जातीय र क्षेत्रीय खालका दलसँग पनि मिल्न गए। वरीयता समेत ख्याल नगरी दोस्रो तहकै जिम्मेवारीमा बसे। यद्यपि, कहीँ पनि उनी टिक्न सकेनन्। न त उनको पार्टीले उचाई लिन सक्यो।
नेपाल समाजवादी पार्टीलाई महिन्द्रराय यादव र गंगा नारायण श्रेष्ठले विभाजन गरिदिए।
त्यसपछि भट्टराईले नेसपा नयाँ शक्ति राखेर नयाँ पार्टीको अहिले प्रथम महाधिवेशन गरिरहेका हुन्। माघ २७ गतेदेखि महाधिवेशन चलिरहेको छ।
नेतृत्वसहित केही पदमा मंगलबार चुनाव हुन लागेको हो।
संस्थापक रहेका डा. भट्टराईसँग नेत्रप्रसाद चापागाईँले चुनाव लड्न उम्मेदवारी दिए।
भट्टराई त संस्थापक भएकोले अध्यक्षको स्वभाविक दाबेदार भए। तर, तन्नेरी चापागाईँले भट्टराईविरुद्ध दिएको उम्मेदवारीले धेरैको ध्यान खिचेको छ।
किनपनि भने चापागाईँको आदर्श नेता हुन् भट्टराई। उनैविरूद्ध अध्यक्षमा लड्ने हिम्मत उनले जुटाएका छन्।
‘अब म पार्टीकै अध्यक्षको प्रतिस्पर्धामा उभिएँ,’ मंगलबार दिउँसो नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘इतिहासलाई अपमान गर्ने भनेको होइन। तर, इतिहास भजाएर भोट माग्ने, इतिहास बेचेर त्यसको ब्याजमा रमाउने राजनीतिको विकल्पमा उभिनुपर्छ भन्ने हो।’
नेसपा नयाँ शक्ति बनेलगत्तै उनी नेतृत्वको दौडमा उभिएका छन्। इतिहासमा आफूले गरेको योगदान भनेर मात्र पार्टी चल्न नसक्ने उनी बताउँछन्।
‘मलाई वास्तवमा लोकतन्त्र आएको अनुभूति भएको छ,’ उम्मेदवारी दर्ता गरेपछि उनले भने, ‘बाबुराम भट्टराईले नै तपाईँको पुस्ताका निम्ति खोलेको नयाँ शक्ति भन्नुभएको छ। अब म मेरै लागि खुलेको पार्टी हाक्न चाहन्छ।’
कतिपय नेताले भविष्यको योजना देखाएर नेतृत्व लिन खोज्नेप्रति उनको तीव्र असन्तुष्टि छ।
‘हामी वैकल्पिक राजनीतिको खोजीमा छौँ, त्यही भएर अध्यक्षको उम्मेदवार बनेको हुँ,’ उनी भन्छन्।
चापागाईँले डा. भट्टराईसँग प्रतिीपर्धा गर्नुपर्नाका केही कारण खोले।
‘जनजीविकाका मुद्दाहरू राजनीतिक दलको एजेण्डामा पर्नुपर्छ र त्यो नै अबको राजनीतिको समाधान बन्न सक्छ भन्ने एजेण्डा लिएर अध्यक्षमा उठेको हुँ,’ उनले भने, ‘हाम्रो राजनीतिक दलमा आन्तरिक लोकतन्त्र अत्यन्त्र कमजोर र संकट अवस्थामा छ। आन्तरिक लोकतन्त्र सुदृढ नभएसम्म दल राम्रो हुन सक्तैन र दलीय व्यवस्थामा दल राम्रो नभएसम्म देश राम्रो बनाउन सकिँदैन। आन्तरिक लोकतन्त्र राम्रो बनाउनको निम्तिपनि म उम्मेदवार भएँ।’
चापागाईँले आफ्नो उम्मेदवारी कसैको विरुद्ध नभएको दाबी गरे।
‘वैकल्पिक राजनीतिलाई नयाँ उचाईमा पुर्याउने अध्यायमा हाम्रो नयाँ पुस्तालाई अनुहार देखाउन पुस्तान्तरणको लागि उम्मेदवार भएको हो,’ उनले थपे, ‘डा. बाबुराम भट्टराईले वैकल्पिक शक्तिको मैले अवधारणा ल्याए, यसलाई विकसित गर्ने नयाँ पुस्ताको काम हो, नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भनेर हामीलाई प्रोत्साहन गर्नुभएको छ यो १० वर्षसम्म।’
आफूलाई महाधिवेशन प्रतिनिधिबाट सकारात्मक सुझाव प्राप्त भएको उनले बताए।
‘प्रतिनिधि ज्याँदै खुशी हुनुहुन्छ। मलाई विश्वास छ, यो चुनाव जितेर म अध्यक्ष भएर यो देशको वैकल्पिक राजनीति अगाडि बढाउन सक्छु,’ चापागाईँले भने।
को हुन् चापागाईँ ?
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लुम्लेमा ३५ वर्षअघि जन्मेका उनले २०५७/५८ देखि माओवादीको अनेरास्ववियू क्रान्तिकारीबाट राजनीति सुरु गरेको बताए। जुनबेला उनी ७ कक्षामा पढ्दै थिए।
‘बाबुराम सरको नााम सुनेर राजनीतिमा प्रवेश गरेका हुँ,’ उनले भने, ‘त्यसपछि माओवादी आन्दोलनलाई सहयोग गर्दै आएँ।’
माओवादी शान्ति प्रक्रियामा आएपछि उनले भूगोलमा राजनीति थाले। २०६४ मा लुम्ले गाविसको अध्यक्ष बने।
२०६५ मा अनेराव्वियूको जिल्ला उपाध्यक्ष भएका उनी त्यसको केही वर्षपछि केन्द्रीय सदस्य बने।
बाबुरामले नयाँ शक्ति गठन गरेपछि उनीपनि उतै लागे। नयाँ शक्ति विद्यार्थी युनियनको महासचिव बने।
केही दलसँग एकता भएर नयाँ शक्तिको नाम नेपाल समाजवादी पार्टी बन्यो। अनि, विद्यार्थी संगठनको नाम पनि परिवर्तन भएर नेपाल समाजवादी विद्यार्थी युनियन बन्यो, चापागाईँ अध्यक्ष चुनिए।
के भन्छन् त भट्टराईर?
चापागाईँले अध्यक्षमा उम्मेदवारी दिएकोमा डा. भट्टराईले सकारात्मक लिएको उनले बताए।
‘हामीले दलभित्र प्रतिस्पर्धाको लोकतन्त्र जे भनेका थियौँ, अहिलेसम्म कसैले आँटै गरेको थिएन्, तपाईँले आँट गर्नुभयो,’ भट्टराईको भनाइ उद्धृत गर्दै चापागाईँले भने, ‘मैले पनि मोहनविक्रम सिंहका विरुद्ध यही ३५ वर्षमै आँट गरेको थिएँ। तपाईँले जे आँट गर्नुभएको छ, म खुशी छु। तपाईँले भोट माग्नुस्। मैले पनि तपाईँलाई भोट हाल्न सक्छु।’
Shares

प्रतिक्रिया