प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन्। शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ६ वटा अध्यादेशबाट २९ वटा कानुन संशोधन गर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे। कानुन कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको उनको भनाई थियो। उनले देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जालबाट हुने अपराध, साइबर क्राइम जस्तो अपराध, अरू विभिन्न प्रकारका ट्राफिकिङका अपराध, ड्रग्स बहुत भयावह ढंगले बढेको छ। कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनतालाई जुन दुःख पाइरहेका छन्, यसले पनि मान्छेप्रति वितृष्णा, घृणा फैलिने काम हुन्छ र यी कुराहरूलाई हटाउनु पर्छ। कानुनका जटिलतालाई पनि हटाउनु पर्छ, तोड्नपर्छ। कानुन कार्यान्वयनका ढिलासुस्ती लगायतका अनेक उल्झनहरूलाई पनि हामीले हटाउनु पर्छ।’
प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरूको संस्था नभई सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताए। प्रहरी संगठन देशका लागि हो भन्ने कुरा मनन गर्नुपर्नेमा उनले जोड दिए। उनले नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरीतका कामहरू प्रहरीबाट हुनु नहुने बताए।
Shares

प्रतिक्रिया