दुईपटक नेपाल आएकी रानी एलिजाबेथ द्वितीयको २०७९ को भदौ २३ गते निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीय त्यहाँका राजा भैसकेका छन्।
अर्जेन्टिनासँग भएको फकल्याण्ड युद्धमा एक हजार गोर्खाली फौजको नेतृत्व गरेका उनी पनि नेपाल आएका थिए। नेपाल आउँदा पोखरा छुट्ने कुरै भएन।
२०३७ मंसिर २३ गते पोखरा आइपुगेका बेलायती युवराज चार्ल्सले फेवाताल किनारमा रहेको फिस्टेल लजमा रात बिताएका थिए। भोलिपल्ट बिहान उनी पदयात्रामा निस्के।
विजयपुरको चाँपको चौरबाट सुरु भएको उनको पदयात्रामा तत्कालीन अधिराजकुमार धीरेन्द्र,पर्वतारोही पर्तेम्बा शेर्पा, युवराज चार्ल्सका डाक्टर, सुरक्षा अधिकारी तथा निजी सचिव, स्थानीय प्रशासनका प्रमुखहरु सहभागी थिए।
स्थानीयहरु, पूर्वगोर्खा सैनिकहरुले भव्य स्वागत गरेका थिए। उनको टोली १५० जनाभन्दा बढीको थियो। उनले चिन्तेको डाँडा, स्याक्लुङको डाँडा, रुपाकोटको चिसापानी र अन्तिम रात बेगनास तालमाथिको जंगलमा बिताएका पोखराका पर्यटन व्यवसायी दामोदरभक्त थापा बताउँछन्। चार्ल्सले हिँडेको सो पदयात्रा मार्गलाई रोयल ट्रेक भनिन्छ।
उनै चार्ल्सका कान्छा भाइ एडवर्ड र उनकी धर्मपत्नी सोफिया अहिले पोखरा आएका छन्। गोर्खा सैनिकको १५० जनाको डफ्फालाई सपथ खुवाउन उनी पोखरा आएका हुन्। दाइको पोखरा यात्रापछि कर्णेल जिमी रोवर्टले बेगनासको डाँडामा बनाएको चर्चित टाइगर माउन्टेनमै बसे। उनी शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने लुम्ले क्षेत्रको पदयात्रामा जानेछन्।
चर्चित गुरुङ गाउँ घान्द्रुकसम्म पुग्ने एडवर्डले दाइजस्तै टेन्टमा रात बिताउने छैनन् तर सो क्षेत्रको चर्चित चन्द्रकोटमै बस्ने कार्यक्रम तय भएको छ। उनलाई बिहीबार पोखराका मेयर धनराज आचार्यले स्वागत गरेका छन्।
बेलायती युवराजको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने उनको भनाइ छ।
एडवर्ड बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये १५औँ नम्बरमा रहेका छन्। बेलायतमा जस्तै कुनैबेला नेपालमा पनि राजसंस्था थियो। नेपालमा जेठा छोरा मात्र बन्थे। बेलायतमा जेठो सन्तान राजा बन्छन्। एडवर्ड राजा बन्ने छैनन् तर उनी सम्मानित छन्।
बेलायती मुकुटको रक्षा गर्ने गोर्खा सैनिकलाई सपथ खुवाउन उनी आएको देशमा भने राजसंस्था नै उखेलिइसकेको छ। राजा महेन्द्रका माहिला सन्तानको रुपमा जन्मेका तर दुईपटक राजा हुने मौका पाएका ज्ञानेन्द्र यतिबेला नागरिक बनेका छन्। यद्यपि, उनीसँग मुकुट पहिरिने आकांक्षा अझै बाँकी छ।
राजकुमार एडवर्डले पोखरा छाडेलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउने भएका छन्। राजसंस्था पुनस्स्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा पूर्वराजाको स्वागत गरिने भएको छ। राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीका अनुसार उनको स्वागतलाई भव्य बनाउन बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ।
राप्रपा नेता गिरीका अनुसार ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम छ। स्वागत कार्यक्रममा गण्डकी (राप्रपाको भाषामा पश्चिमाञ्चलवासी) का विभिन्न ठाउँबाट सहभागिता रहने छ। पूर्वराजा ज्ञानेन्द्र करिव १५ दिन पोखरा बस्नेछन्।
Shares

प्रतिक्रिया