अध्यागमन कानुन उल्लंघनका कारण २०२४ को मे महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकलाई नेपाल फर्काइएको छ।
युक्रेनको परराष्ट्र मन्त्रालय, किभस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), बोर्डर सेक्युरिटी गार्ड, युक्रेन, किभस्थित मोल्डोभाको राजदूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतको सहयोग लिएर युक्रेनबाट उद्धार गरी उनीहरूलाई नेपाल फर्काइएको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले दिएको जानकारीअनुसार, उनीहरूलाई आज (६ फेब्रुअरी) मा मोल्डोभाको चिसिनाउबाट नेपाल फर्काइएको छ। नेपाल फर्कनका लागि आवश्यक हवाइजहाजको टिकटको प्रबन्ध गैरआवासीय नेपाली संघको मुख्यालयले गरेको थियो।
'विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान यस राजदूतावासले २०७९ फागुन १० मा सूचना समेत जारी गरिसकेको अवस्थामा पनि मानव तस्करहरूको प्रलोभनमा परि अझै पनि छिटपुट रूपमा नेपाली नागरिकहरू युक्रेन आएको पाइएको छ,' विज्ञप्तिमा लेखिएको छ, 'सन् २०२३ को जनवरी तेस्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीहरूलाई प्रवेशाज्ञा जारी नगर्ने निर्णय गरेको समेत यस राजदूतावासबाट जारी गरिएको सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको भए तापनि प्रलोभनमा परी वा स्वेच्छाले युक्रेन आउनुका पछाडि युक्रेनको विद्यमान जटिल अवस्थाबाट फाइदा लिँदै युरोपका अन्य मुलुक प्रवेश गरी पलायन हुन सकिन्छ भन्ने मनसाय रहेको पाइएको छ।'
नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार
कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपदमा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन हुने भएकोले यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न दूतावासले पुनः अनुरोध गरेको छ।
युक्रेन सहित पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, रोमानिया, बुल्गेरिया, र भ्याटिकन सिटी (होलिसी) समेत देशहरूमा बर्लिन दूतावासले हेर्छ।
राजदूतावासले टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन र झुटा विवरणको प्रचार भइरहेको भन्दै दूतावास १७ जनवरीमा पोल्यान्डलगायत मुलुकमा आउनुअघि पनि सचेत रहन सूचना जारी गरेको थियो।

Shares

प्रतिक्रिया