सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसद पदम गिरीले जिल्ला अस्पताल आइसोलेसन वार्ड निर्माणका लागि तीन महिनाको तलब दिने घोषणा गरेका छन्।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सांसद गिरीले कोरोना भाइरस (कोभिड–१९)का विरुद्ध लड्नका लागि जिल्ला पर्वत जिल्ला अस्पतालमा आइसोलेसन वार्ड निर्माण र अन्य आवश्यक उपकरण खरिद गर्नका लागि तीन महिनाको तलब दिने घोषणा गरेका हुन्।
‘मेरो निर्वाचन क्षेत्र पर्वतमा आइसोलेसन वार्ड स्थापना तथा अन्य अत्यावश्यक उपकरण एवं सामग्री सहयोग पुगोस भन्ने हेतुले मेरो तीन महिनाको तलब प्रदान गर्ने घोषणा गर्दछु’, सांसद गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनले सो कोषमा सहयोग गर्न स्थानीय जनप्रतिनिधि र देशविदेशमा रहेका सबैमा अनुरोधसमेत गरेका छन्।
प्राप्त सहयोग कोषको व्यवस्थापन जिल्ला अस्पताल पर्वतले गर्ने र अनुगमन, नियमित र प्राप्त सहयोगको संयोजन जिल्ला समन्वय समिति, जिल्ला प्रशासनिक कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने गरी आवश्यक व्यवस्था मिलाइने उनले जानकारी दिएका छन्।
उनले सर्वसाधारणलाई सरकारले जारी गरेका निर्देशन कडाइका साथ पालना गर्न र सुरक्षित रहन अनुरोध गर्दै आफू सधैं जनताको साथमा रहेको स्पष्ट पारेका छन्।
नेकपा पर्वतका अध्यक्षसमेत रहेका गिरीले कोरोनाविरुद्ध लड्न सरकार र नागरिकबीच साझेदारी आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया