नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टीको जिम्मेवारी दिएको छ।
सोमबार बसेको पदाधिकारी (कार्यालय) बैठकले उनको रुचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए।
यद्यपि, पार्टीमा कुन तहको जिम्मेवारी हुने भन्नेचाहिँ अझै निर्णय भइसकेको छैन। उनी उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागी भइरहेका छन्।
माओवादीका कतिपय नेताहरू भने उनलाई आमन्त्रित रूपमा सहभागी गराइएको दाबी गर्छन्।
‘पासाङजीलाई उत्पादन हेर्ने क्षेत्रको जिम्मेवारी दिइएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘पार्टीमा पनि पदाधिकारी तहको जिम्मा दिने भनिए पनि स्टाटस (मर्यादाक्रम) प्रस्ट भइसकेको छैन।’
उपराष्ट्रपतिबाट हटेको २२ महिना र पार्टी राजनीति छोडेको ९ वर्षपछि पुन पार्टीको जिम्मेवारीमा फर्किएका हुन्। २०७२ कात्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकालमा पनि दोहोरिएका थिए।
पासाङ २०७९ चैत ६ गते उपराष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि केही समय निष्क्रियजस्तै बसेका थिए। २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा जन्मिएका उनी हाल ६० वर्षका भए।
उनको जिम्मेवारी तोक्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धौधौ परेको थियो। अझै पनि उनलाई उपाध्यक्षको पद दिन माओवादीको विधान बाधक हुने देखिन्छ। किनकि, माओवादी विधानले २२ सदस्यीय पदाधिकारी मात्रै हुने व्यवस्था गरेको छ।
गत पुस २१–२३ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्यले उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कन नहुने मत राखेका थिए।
बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले सक्रिय गराएको नभएर पासाङ आफैँले राजनीतिमा सक्रिय हुने चाहना राखेको बताएका थिए।
छैन उत्पादन विभाग
माओवादी केन्द्रले अभ्यास गरिरहेको संगठन संरचनामा अहिलेसम्म उत्पादन विभाग छैन। ३५ विभागमध्ये उत्पादनसँग मिल्दाजुल्दा उद्योग, अर्थ तथा योजना, उपभोक्ता हित तथा आपूर्ति, कृषि तथा भूमिसुधार, कोष तथा आर्थिक व्यवस्थापनलगायत छन्।
यी ३५ वटै विभागमध्ये केहीलाई गाभ्ने प्रक्रिया अघि बढिसकेको अर्का पदाधिकारी बताउँछन्।
‘उत्पादनसँग सम्बन्धित विभाग आवश्यक रहेको ठहर गर्दै अब बनाउने प्रक्रिया भइरहेको छ,’ ती पदाधिकारीले भने, ‘अलि विस्तारित क्षेत्र भएको उद्योग थियो। अब आवश्यक राख्ने र अनावश्यक (३५ मध्ये) केही हटाउने, केही मर्ज गर्ने (गाभ्ने) भन्ने छ।’
Shares

प्रतिक्रिया