वनको संरक्षण र व्यवस्थापनका लागि संघीय राजधानी काठमाडौंमा मन्त्री र प्रदेशमन्त्रीहरूको बैठक सुरु भएको छ।
सोमबार ललतिपुरमा संघका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठकमा सातवटै प्रदेशका वन क्षेत्र हेर्ने मन्त्रीहरूको सहभागिता रहेको छ।
बैठकमा वन व्यवस्थापन, काठ दाउराको उत्पादन र उत्पादित काठ दाउरालाई नागरिकको घरसम्म कसरी पुर्याउने भन्ने विषयवस्तुहरु रहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवप्रसाद वाग्लेले बताए।
उनले भने, ‘हाम्रो संविधानले वनको संरक्षण संघ, प्रदेश र स्थानीय तहको साझा सूचिमा पनि व्यवस्था गरेको छ। एकल सूचिमा पनि व्यवस्था गरेको छ। वनको संरक्षणमा तीन तहकै सरकारले सहकार्य, समन्वय कायम गरेर जाने भन्ने छ। त्यो कसरी कायम गर्ने भन्दा संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध भन्ने छ। संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध ऐनको दफा २२ मा विषयगत समिति रहने व्यवस्था छ।’
साथै डढेलो लाग्न नदिन पूर्वतयारीका बारेमा पनि छलफल हुने जानकारी दिए।
उनले थपे, ‘वन क्षेत्रका विभिन्न सवालहरुमा छलफल गरेर एउटा निचोड निकालेर आगामी कार्यक्रम कार्यान्वयन गर्ने। वन व्यवस्थापन गर्न काठ दाउरा व्यवस्थापन, उत्पादन भएको काठ दाउरा सरल तरिकाले बिक्री गर्ने र कसरी जनताको घरमा पुर्याउने भन्ने छ। वन डढेलो लाग्यो भने कसरी पूर्वतयारी गर्ने र लाग्नै नदिन कसरी योजना बनाएर अघि बढ्ने भन्ने छ।’
उनले वनको संरक्षणका लागि तीन तहकै सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया