राजनीति


कीर्तिपुर अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्र बनाइने, चौधरी ग्रुपले सहकार्य गर्ने

कीर्तिपुर अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्र बनाइने, चौधरी ग्रुपले सहकार्य गर्ने

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १२:३५, काठमाडौँ

कीर्तिपुरमा रहेको बर्न अस्पताललाई देशकै जलन उपचारको प्रमुख अस्पतालका रुपमा विस्तार गर्ने सरकारको योजनामा चौधरी ग्रुपले पनि सहकार्य गर्ने भएको छ।  

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी, सांसद चन्द्र भण्डारी, कीर्तिपुर वर्न अस्पतालका चिकित्सकसहित सरोकारवालासँगको बैठकमा कीर्तिपुरमा मुलुककै प्रमुख जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा छलफल भएको हो। 

छलफलमा चौधरी फाउन्डेसनले कीर्तिपुर अस्पतालसङ्गको समन्वयमा तयार गरेको राष्ट्रिय जलन उपचार केन्द्रको कार्ययोजना प्रस्तुत गरिएको छ।  

मन्त्री पौडेलले मुलुकमा विशिष्टिकृत सेवासहितको जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा चौधरी ग्रुपसँगको सहकार्य महत्वपूर्ण हुने बताए। 

उनले भने, ‘माननीय विनोद चौधरीज्यूले जसरी डेडिकेटेड बर्न सेन्टर निर्माणका लागि चासो राख्नुभयो र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो, यसले सरकारको लक्ष्य प्राप्तिमा ठूलो सहयोग पुगेको छ।’

उनले चौधरी ग्रुपसँगको सहकार्यमा कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण हुने विश्वास व्यक्त गरे। कीर्तिपुरलाई जलन उपचारमा देशकै विशिष्टिकृत अस्पताल बनाउने र बाँकी ६ वटा प्रदेशमा रहेका जलन वार्ड विस्तार कार्य भइरहेको मन्त्री पौडेलले बताए। 
कीर्तिपुरस्थित बर्न अस्पताललाई सुविधासम्पन्न बनाउने मन्त्री पौडेलको योजनामा चौधरी ग्रुपले सघाउने तयारी गरेको हो। 

सांसद चौधरीले नेपालमा सुविधासम्पन्न जलन उपचार केन्द्रको अभाव भएकाले आफूले यसलाई प्राथमिकतामा राखेको बताए । कांग्रेस नेता चन्द्र भण्डारीसँगको कुराकानीपछि नेपालमा विशिष्टकृत सुविधासहितको जलन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको सांसद चौधरीले बताए।

 ‘माननीय चन्द्रजीको जुन दुर्घटना भयो, उहाँले नेपालमा डेडिकेटेड बर्न अस्पतालका लागि सरकारसँग निरन्तर पहल गरिरहनुभएको थियो, त्यसमा खासै प्रगति नभएको मैले पाए। उहाँसँगको कुराकानीपछि मैले यसको  आवश्यकता नेपालमा महसुस गरे,’ उनले भने, मन्त्रीज्यू आइसकेपछि हामीले कुराकानी ग¥यौं । उहाँले सकारात्मक जवाफ आयो । अब बर्न अस्पताल निर्माण कार्यले सार्थकता पाउँदैछ।’

काठमाडौँको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगलागी हुँदा कांग्रेस सांसद भण्डारी गम्भीर घाइते भएका थिए। नेपालमा उपचार सम्भव नभएपछि उनको भारतमा उपचार भएको थियो। सांसद भण्डारीले नेपालमा डेडिकेटेड जलन अस्पताल निर्माणका लागि सरकारसँग माग गर्दै आएका छन्। 

अघिल्लो वर्ष सरकारले कीर्तिपुरको बर्न अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्रका रुपमा विस्तार गर्ने घोषणा गरेपनि काम अगाडि बढ्न सकेको थिएन। 

नयाँ सरकार निर्माण भएसँगै कांग्रेस सांसद पौडेल स्वास्थ्यमन्त्री बनेपछि उनले अघिल्लो सरकारको योजनालाई अगाडि बढाएका हुन्। 

स्वास्थ्यमन्त्रालयसँगको समन्वयमा चौधरी ग्रुपले राष्ट्रिय जलन उपचार केन्द्र निर्माणका लागि सहयोग गर्न लागेको हो। 

सांसद चौधरीले सरकारसँगको समन्वयनमा केन्द्रको भवन निर्माणका लागि छिट्टै काम सुरु गरिने जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad