नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन्।
म्याङलुङस्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए। जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरूसँगको उठबस बाक्लो भएको स्वीकारोक्ति उनको थियो।
हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएको र त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए।
उनले भने, ‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो। हामीले महान शहीदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगहरूलाई निरन्तर भेटघाट गरेर सुखदुःख बुझ्नुपर्ने थियो। उनीहरूलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएको जस्तो, बेवास्ता गरेको जस्तो भयो।’
प्रचण्डले थपे, ‘मजदुर, किसान, उत्पीडित, समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थारुका मुद्दा उठायौं र जसरी स्थापित गर्यौं। अहिले आएर ती समुदाय र वर्गले माओवादीले हाम्रो मुद्दा त उठायो तर, बीचैमा छाडिदियो भन्ने पर्न गयो। हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्दा अलिकती ‘लुज’ भयो। वर्गबैरीहरुसँग बढी सहकार्य गरेको जस्तो देखियो। अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ।’
यस्तै, उनले एकपछि अर्को गरी पार्टी विभाजनको ऋृंखला रोक्न नसकिएको स्वीकार गरे। अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको बताए।
‘अब हमी हाम्रो वर्गसँगको सम्बन्धलाई बजबुत बनाउने र बलिदानका साथ स्थापित गरिएका त्यो वर्गका मुद्दाहरूलाई फेरि उजागर गर्ने, स्थापित गर्ने र अगाडि ल्याउने काममा लागेका छौं।’
उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने राजनीतिक एजेण्डा फेरि अघि सारिने बताए।
दुर्गा चापागाईंबाट सिक्न देशभरका कार्यकर्तालाई अपिल
फरक प्रसंगमा उनले ०५८ साल माघ १४ गते तत्कालीन सुरक्षाकर्मीबाट २१ जनाको सामूहिक हत्या र पार्टी विभाजनपछि तेह्रथुममा कमजोर भएको माओवादी फेरि उकालोतिर लागेको देखेको भन्दै जिल्ला नेताहरूको प्रशंसा गरे।
पार्टीको पहलमा संघ, प्रदेश र स्थानीय तहबाट जिल्लामा गरिएको विद्युतीकरणसहित भौतिक पूर्वाधारको विकास तथा शहीदहरूलाई स्थापित गर्ने काममा तेह्रथुमले गरेको प्रयासबाट सिक्न देशभरका नेता कार्यकर्तालाई अपिल गरे। उनले तेह्रथुममा विकासको कामको शानदार नेतृत्व गरेको भन्दै पार्टी केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंसहित जिल्ला नेताहरुरूको प्रशंसा गरे।
‘तेह्रथुम जिल्लालाई फेरि उकालोतिर लागेको भरोसा र विश्वास हामीलाई भएको छ। त्यसको लागि यस जिल्लाका सुरुदेखि नेतृत्वकर्ता दुर्गा चापागाईसहित सचिवालगायत नेतृत्वका साथीहरूलाई विशेष रुपले धन्यवाद गर्न चाहन्छु’, उनले भने।
Shares

प्रतिक्रिया