पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टीको राजनीतिमा सक्रिय हुने समय आइनसकेको बताएकी छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा चासो राख्ने व्यक्तिहरूले आफ्नो राजनीतिक सक्रियताबारे छलफल गरेपनि आफू त्यो चरणमा प्रवेश नगरेको बताइन्।
यद्यपि, उनले नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने संकेत भने गरेकी छन्।
‘भोलि अब कुन दलमा काम गर्ने भन्ने त्यो पनि कुरा आउँछ होला। म नेकपा (एमाले) बाट जन्मेर, हुर्केर यो ठाउँमा पुग्नाले अब जाँदा त्यहीँ नै कुरा हुन्छ। त्योचाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन’ उनले भनिन्, ‘त्योचाहिँ तपाइँहरूजस्तो राजनीतिमा चासो राख्ने साथीभाइहरूबीच छलफल भएजस्तो मलाई लाग्छ। यो विषय, मेरो छलफल भइसकेको छैन र त्यो समय पनि आइसकेको छैन।’
सञ्चारकर्मीको जिज्ञासामा भण्डारीले राजनीतिप्रति आफ्नो गहिरो अभिरुचि रहेको पनि स्पष्ट पारिन्।
‘देशको राष्ट्रियता, स्थायित्व र प्रगतिमा हामीले चासो राख्नुपर्छ। त्यसमा मेरो गहिरो चासो छ,’ उनले भनिन्।
Shares

प्रतिक्रिया