पूर्वाधार विकास समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरुले समिति सभापतिको ध्यानाकर्षण गराएका छन्।
बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा विधेयक वर्षौंसम्म अड्काएर राखेको आरोप लगाए।
समितिमा आएको जलस्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्नेमा उनीहरुले जोड दिएका थिए। नेकपा एमाले सांसद महेश बस्नेतले एउटा विधेयकलाई बर्षौंसम्म अड्काएर राख्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा जोड दिए।
‘विधेयकलाई समय सान्दर्भिक बनाउन विज्ञहरुसँग छलफल गर्नुपर्छ,’ उनको भनाइ छ, ‘छलफल कहाँ भए भन्दा पनि छलफलको निचोड के आयो भन्नेकुरा महत्वपूर्ण हुन्छ। एउटा विधेयक वर्षौंसम्म अड्काएर समितिमा राख्ने परम्परालाई अन्त्य गरेर समितिको प्रभावकारितालाई हामी पुष्टि गरौँ।’
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलस्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने धारणा राखे। ‘सरकारलाई अलि दबाब दिएर यो विधेयकहरु छिटो टुंग्याउन निर्देशन दिऔँ,’ उनको भनाइ थियो, ‘परिपक्व भएका दुईवटा विधेयकमा लागौँ। अरु दुईवटा विधेयक आइसके।’
माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेहीहुन नसकेको बरु समिति नै सरकारप्रति उत्तरदायी बन्ने अवस्था आएको टिप्पणी गरे। ‘समिति आफ्नो जिम्मेवारीबाट बाहिर जाँदैछ,’ उनको भनाइ छ, ‘सरकारलाई सदन र समितिप्रति उत्तरदायी बनाउनुपर्नेमा समिति सरकारप्रति जवाफदेही बन्ने खालको गल्ती हामी गरिरहेका छौँ। आगामी दिनमा यो गल्ती नदोहोर्याऔँ।यसलाई सही ६ भन्नेकुरा सावित गर्ने हो भने यसले समितिमाथि नै प्रश्न उठाउँछ। समितिको काम कारबाहीलाई अलि व्यवस्थित गर्नेबारेमा सोचियोस्।’
‘महत्वपूर्ण कामहरु अघि बढिरहेका छन्, कतै अलपत्र छन्, कतै सम्पन्न हुने स्थिति पनि छ,’ उनको भनाइ छ, ‘एक पटक समिति नै अनुगमनमा जाने हो की।’
Shares

प्रतिक्रिया