राजनीति


सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो : ज्ञवाली

सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो : ज्ञवाली

नेपालखबर
माघ ६, २०८१ आइतबार १९:३०, पर्वत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार संकटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन्।

नेकपा (एमाले) पर्वतले आजदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे।

‘सरकार ढुक्कसँग ३ वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो’, उनले भने। मुलुकमा देखिएको संकटमा समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए। 

वर्तमान सरकार कुनै पनि संकटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो। सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए। कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए। 
    

सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए। मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो। 

सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसाबले लागेको उनले बताए। भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भए पनि कारबाहीको दायरमा ल्याएरै छाडिने उपमहासचिव ज्ञवालीले बताए।  

एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad