कोसी प्रदेशमा उत्पादन भन्दा उपभोग्य र खुद्रा बिक्रेता शिर्षकमा बढी ऋण प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोसी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थामा बैंक तथा वित्तीय संस्थाहरू उपभोग्य कर्जा उन्मुख देखिएका हुन्।
बैंक तथा वित्तीय संस्थाहरूले २०८१ को असार मसान्तसम्म कोसी प्रदेशमा कुल ५ खर्ब ७८ अर्ब ९३ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गर्दा थोक तथा खुद्रा बिक्रेता शिर्षकमा मात्रै १ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ ऋण प्रवाह भएको छ भने उपभोग्य कर्जा शिर्षकमा १ खर्ब २४ अर्ब २९ करोड रुपैयाँ प्रवाह भएको हो।
बैंक तथा वित्तीय संस्थाहरूबाट जाने कर्जा उपभोग केन्द्रित बन्दा उत्पादनमुलक क्षत्र पछाडि पर्दै आएका छन्। कोसी प्रदेशमा कृषि र वन क्षेत्रमा ५८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा गैरखाद्य वस्तु उत्पादनमा ७३ अर्ब ८७ करोड, कृषि, वन तथा पेय पदार्थ उत्पादन तर्फ ४७ अर्ब रुपैयाँ ऋण गएको हो।
यो बाहेक यो क्षेत्रा घरजग्गामा २१ अर्ब १२ करोड ऋण प्रवाह हुँदा शिक्षमा १२ अर्ब, पर्यटनमा १२ अर्ब ९० करोड, बित्त बीमा तथा अचल सम्पतीमा २४ अर्ब ६० करोड,निर्माण क्षेत्रमा ९ अर्ब ४३ करोड रुपैयाँ बराबरको ऋण प्रवाह भएको छ।
यस्तै सहुलियतपूर्ण कर्जातर्फ भने कर्जा प्रवाह कमजोर देखिएको छ। यो प्रदेशमा कुल १९ अर्ब ६९ करोड सहुलियतपूर्ण कर्जा प्रवाह हुँदा युवा वर्ग स्वरोजगार कर्जा, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिम शिर्षकको कर्जा, कपडा उद्योग सञ्चालन शिर्षकका कर्जा प्रवाह शून्य बन्न पुगेका हुन्।
राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत पर्ने १० वटा कर्जा मध्ये व्यवसायिक कृषि तथा पशुपन्क्षी कर्जा र महिला उद्यमी कर्जा बाहेकका अन्य कर्जा प्रवाहको अवस्था कमजोर देखिएको हो।
व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा शिर्षकमा १ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी हुँदा महिला उद्यमशील कर्जातर्फ बैंक तथा वित्तीय संस्थाहरूले ६ अर्ब ७२ करोड रुपैयाँ ऋणमा लगानी गरेका हुन्।
यो बाहेक विदेशबाट फर्केका युवा परियोजना कर्जामा ५१ लाख ऋण प्रवाह हुँदा दलित समूदाय व्यवसाय विकास कर्जामा २७ लाख ऋण प्रवाह भएको छ।
यता शिक्षित युवा स्वरोजगार कर्जा,उच्च र प्राविधिक तथा व्यवासायिक शिक्षा र भूकम्प पीडितहरूको निजी आवास निर्माणकर्जा तर्फ १० लाख तल कर्जा प्रवाह भएको हो।
Shares

प्रतिक्रिया