राजनीति


इजरायली राष्ट्रपति नेपाल आउन इच्छुक, विपिन रिहाइका लागि पहल गर्ने

इजरायली राष्ट्रपति नेपाल आउन इच्छुक, विपिन रिहाइका लागि पहल गर्ने

इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितले इजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।


नेपालखबर
माघ ३, २०८१ बिहिबार १०:७, काठमाडौँ

इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितले इजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

इजरायल-हमासबीच युद्धविराम सम्झौता भएकै दिन राजदूत प्रा. पण्डितले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस भएपछिको कुराकानीमा राष्ट्रपति हर्जाेगले आफू नेपाल भ्रमण गर्न इच्छुक भएको बताएका छन्। 

‘कुराकानीका क्रममा मैले महामहिमबाट नेपालको भ्रमण होस् भन्ने हाम्रो चाहना छ भनेको थिएँ’, राजदूत पण्डितले भने, ‘नेपाल आउने मेरो पनि एकदम ठूलो चाहना छ भन्नुभयो। यो कुरा उहाँले आफ्ना सहयोगीलाई नोट पनि गराउनुभएको छ।’

बुधबार अपराह्न भएको कार्यक्रममा नेपालका अलावा चीन, स्लोभेनिया, पनामा र पोर्चुगलका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम थियो।

ओहोदाको प्रमाणपत्रपछि नेपाली राजदूतलाई राष्ट्रपतिसँग कुराकानीका लागि ७ मिनेट तय गरिएको थियो। 

‘तर, उहाँसँग १२ मिनेट कुराकानी हुनसक्यो, उहाँले नेपालबारे निकै चासो प्रदर्शन पनि गर्नुभयो’, पण्डितले भने, ‘कुराकानीका क्रममा मैले आजै इजरायल-हमासबीच युद्धविराम पनि हुँदै छ, आजै महामहिमसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने अवसर पनि प्राप्त गरेँ भनेको थिएँ। यसलाई उहाँले पनि गजबको संयोगका रूपमा लिनुभयो।’

कुराकानीका क्रममा पण्डितले युद्धविरामसँगै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ पनि छिट्टै हुने र उनको रिहाइलाई इजरायली सरकारले पनि प्राथमिकता दिएर पहल गर्ने अपेक्षा व्यक्त गरेका थिए। त्यस क्रममा उनले आफू विपिन अपहरणमा परेको स्थानसम्म पुगेको जानकारी पनि गराए। 

‘ओहो, तपाईं त्यो ठाउँसम्म पनि पुग्नुभयो?’ राष्ट्रपति हर्जाेगले आश्चर्य प्रकट गर्दै भने, ‘त्यो ठाउँसम्म पुगेर वास्तविकता बुझ्नु भएकोमा धन्यवाद छ।’

राजदूत पण्डितले इजरायल-हमासबीच युद्धविराम हुने तय भएसँगै नेपालको परराष्ट्रमन्त्रीले विपिनको रिहाइका लागि कतार, इजिप्ट, पाकिस्तानलगायत विभिन्न पक्षसँग कुराकानी गरेको जानकारी गराए।

राष्ट्रपति हर्जाेगले विपिनको शीघ्र रिहाइका लागि आफ्नो सकारात्मक सहयोग हुने अवगत राजदूत पण्डितलाई गराएका द्छटन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad