प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिएकी छिन्।
माओवादी केन्द्रको जारी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले पार्टीको महाधिवेशन भने ६ महिनापछि गर्न सकिने धारणा राखेको एक केन्द्रीय सदस्यले नेपालखबरलाई जानकारी दिए।
‘अहिले अभियानको योजना बनाएर जाँऔं, महाधिवेशन ६ महिना पछि गरौं,’ बैठमा भुसालको भनाइ थियो, ‘अहिले पार्टी अध्यक्षको नेतृत्वमा एकताबद्ध भएर जाऔं।’
उपमहासचिव वर्षमान पुन लगायतका नेताहरुले भने चाँडै विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए। माओवादीभित्र लामो समयदेखि विशेष महाधिवेशनको कुरा उठ्दै आइरहेको छ।
उपमहासचिव जनार्दन शर्मा लगायतले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसलाई महाधिवेशनबाट टुंग्याउने जवाफ दिएका छन्।
Shares

प्रतिक्रिया