प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार अलि हतारमा देखिन्थे। पार्टीका प्रायः बैठक र भेलाहरूमा घन्टौँ भाषण दिने ओलीलाई आज पनि बोल्ने विषयको अभाव थिएन।
बुधबार मात्र एमालेका पूर्वउपाध्यक्ष भीम रावलले उनका विरुद्ध दुई घण्टासम्म लिखित ‘आरोपपत्र’ वाचन गरेका थिए। आजको बैठकमा ओलीले लामै समय लिन सक्ने आकलनका साथ सचिवालयको बैठकमा पदाधिकारीहरू उपस्थित भएका थिए।
तर, ओली सधैँभन्दा आज फरक रूपमा प्रस्तुत भए। उनले बैठकमा लामो समय बोलेनन्। आफूले कारबाही गरेर पार्टीबाटै निकालिएका नेता रावलले लगाएका आरोपहरूका विषयमा पनि खासै प्रतिक्रिया दिएनन्। उनले छोटोमा समेटेर कुराको बिट मारे, ‘भीम रावलभित्र भएको सारा कुरा व्यक्त भएछ।’
बैठकमा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन वितरण गरियो। ‘प्रायः बैठकमा यस्तो प्रतिवेदन वाचन गरेर सुनाइन्थ्यो,’ स्रोतले भन्यो, ‘तर, आज अध्यक्षज्यूले हतार छ, बालुवाटारमा मिटिङ छ भन्नुभयो। छोटो बोलेर बैठक समापन गर्नुभयो।’
प्रतिवेदन अध्ययन गरेर भोलि शुक्रबार १२ बजेभित्र आफ्ना सुझाव दिन सचिवालयका सदस्यहरूलाई भनिएको छ। सुझाव संकलनका लागि उपमहासचिव प्रदीप ज्ञवालीलाई ‘फोकल पर्सन’ तोकिएको छ।

पार्टी कार्यालयबाट हतारहतार निस्किएका ओली त्यसपछि बूढानीलकण्ठस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास पुगेका थिए। ‘उहाँले हतार छ, बालुवाटारमा मिटिङ छ भन्नुभएको थियो तर बूढानीलकण्ठ पुग्नुभएछ,’ ती नेताले भने, ‘उता दुई घण्टा नै छलफल भएछ।’
बूढानीलकण्ठमा दुई नेताबीच मात्र कुराकानी भएकाले त्यसको विस्तृत विवरण बाहिरिइसकेको छैन। तर, दुई घण्टा लामो छलफल एमालेमा विकसित घटनाक्रममै केन्द्रित रहेको ओलीको सचिवालयले जानकारी दिएको छ।
स्रोतअनुसार, पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रियता बढाएपछि ओली सशंकित छन्। कतिपय उनकै विश्वासपात्रहरू पार्टी राजनीतिमा भण्डारीको पुनरागमनका लागि प्रयासरत देखिएका छन्।
भण्डारीको सक्रियता र पार्टीकै केही नेताले उनलाई गरिरहेको सहयोगप्रति ओलीको पर्याप्त असन्तुष्टि छ, जुन कुरा पार्टीका कार्यक्रममा पनि व्यक्त हुँदै आएको छ।
गएको मंसिर मसान्तका दिन स्थानीय तहमा पार्टी कामका समस्या समाधान विषयक राष्ट्रिय कार्यशाला बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपतिकोमा गएर मानिसहरूले किन गल लगाउनुपर्यो? किन उचालिराख्नुपर्यो र? ‘तपाईं आइदिनुपर्यो भनेर भन्नै परेन नि! पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो। उहाँले बुझिहाल्नुहुन्छ नि।’
अबको महाधिवेशनमा ओली फेरि अध्यक्ष बन्न चाहन्छन्। उनले उमेर हददेखि तेस्रो कार्यकालका लागि पनि अध्यक्ष दोहोरिने गरी विधान संशोधन गरिसकेका छन्।
तर, एमालेको एउटा पंक्ति ओलीको व्यवहार र शैलीप्रति असन्तुष्ट छ। हिजो ओलीकै गुटमा रहेर उनलाई सघाउनेहरू पनि अहिले ‘ओलीले पार्टी सिध्याउने भए’ भन्न थालेका छन्।
पछिल्लोपल्ट भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाहीलाई लिएर पनि ओलीप्रति असहमत तप्का झन् चिढिएको छ। पार्टीमा रचनात्मक मत राख्ने, बहस र तर्क गर्ने नेताहरूलाई किनारा लगाउने, अनि आफू जहिल्यै सर्वसम्मत देखिन खोज्ने प्रवृत्ति उनकै सहयोगी नेताहरूलाई मन परेको छैन। बिहीबार मात्र एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीमा बहसलाई बन्देज गर्ने कुरा कुनै कोणबाट उचित नहुने भनी टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा कसैको नाम नलिएर स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणको शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका छन्।
उनले लेखेका छन्, ‘स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म हो। तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन।’
विचारमा आधारित भएर राजनीतिक बहस गर्न सकिने र त्यसमा बन्देज लगाउन नहुने स्थायी समिति सदस्य थापाको धारणा छ।
‘अराजकता र अनुशासनहीनता पनि कहीँ स्वीकार्य हुँदैन,’ उनले लेखेका छन्, ‘विचार र विश्लेषणको शृंखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हाे भने राजनीतिकर्मीको मृत्यु हुन्छ। विचारमा आधारित भएर राजनीतिक बहस गरौँ। सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ। एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ। असभ्यताको प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन।’
Shares

प्रतिक्रिया