राजनीति


भण्डारीको सक्रियताले एमालेमा हलचल, ओलीको प्रतिवाद : म हुँदाहुँदै सम्भव छैन

भण्डारीको सक्रियताले एमालेमा हलचल, ओलीको प्रतिवाद : म हुँदाहुँदै सम्भव छैन

फाइल फोटो


सागर न्यौपाने
पुस १, २०८१ सोमबार २२:२, काठमाडौँ

राष्ट्रपतिको कार्यकाल सकिएपछि विद्या भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने कोसिसमा छिन्। त्यसका वातावरण बनाउन उनी सार्वजनिक कार्यक्रममा मात्र होइन, नेकपा एमालेका विभिन्न संगठनका गतिविधिमा पनि सहभागी भइरहेकी छन्। 

आइतबार मात्र उनी एमालेनिकट कर्मचारी संगठनले काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि थिइन्। जुन कार्यक्रममा एमालेका दुई दर्जनभन्दा बढी सांसद पनि सहभागी थिए।

यद्यपि, ‘सांस्कृतिक साँझ’ नाम दिइएको उक्त कार्यक्रममा भण्डारीले भाषण गरिनन्। उनले भाषण नगरे पनि त्यसका राजनीतिक तरंग भने एमाले पार्टी मुख्यालय च्यासलसम्मै पुगिसकेको थियो। र, एमालेभित्र उल्लेख्य संख्याको एउटा पंक्ति भण्डारीलाई फेरि पार्टी राजनीतिमा सक्रिय बनाउन लागिपरेकै छ।

उनलाई फर्काउन सकेमा वाम एकताको आधार बनाउन सकिने र हालका अध्यक्ष केपी शर्मा ओलीको ‘एकमना’ कार्यशैलीमा ब्रेक लगाउन सकिने बुझाइ भण्डारीको पक्षमा खुलेर लागेका नेताहरूको छ। त्यसैले उनीहरू भण्डारीको सक्रियता अझै बढाउनुपर्ने वकालत गर्छन्।

‘ताप्के नतातिकन बिँड तात्दैन। मुख्य कुरा ताप्के तात्नुपर्‍यो,’ भण्डारीलाई सक्रिय बनाउन जोडबल गरिरहेका एक नेताले नेपालखबरसँग भने, ‘महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ तर उनलाई क्रियाशील बनाउन सबैतिरबाट प्रयास भइरहेकै छ।’

भण्डारी अब पछि हट्ने सम्भावना नभएको उनीहरू बताउँछन्। 

‘अब पछि हट्ने कुरा आउँदैन,’ ती नेताले आत्मविश्वाससहित भने, ‘पार्टी अध्यक्षले नै यो विषयमा बोल्न थालेपछि तात्नका लागि झन् मद्दत नै गरेको छ।’

आफ्नै मातहतका नेताहरू भण्डारीलाई ‘उक्साउन’ लागिपरेको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई मन परेको छैन। आइतबार स्थानीय तहमा पार्टी कामका समस्या समाधान विषयक राष्ट्रिय कार्यशाला बैठकलाई सम्बोधन गर्र्दै ओलीले खुलेरै त्यसमा असन्तुष्टि जनाइहाले।

‘पूर्वराष्ट्रपतिकोमा गएर मानिसहरूले किन गल लगाउनुपर्‍यो? किन उचालिराख्नुपर्‍यो र?’ ओलीले भने, ‘तपाईं आइदिनुपर्‍यो भनेर भन्नै परेन नि! पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो। उहाँले बुझिहाल्नुहुन्छ नि।’ 

अबको महाधिवेशनमा ओली फेरि अध्यक्ष बन्न चाहन्छन् भन्ने प्रष्ट छ। उनले उमेर हददेखि तेस्रो कार्यकालका लागि पनि अध्यक्ष दोहोरिने गरी विधान संशोधन गरिसकेका छन्। 

तर, महाधिवेशनअघि नै भण्डारी सक्रिय भए अप्ठेरो हुने भय उनमा देखिन्छ। एमालेका केही नेताहरू अबको महाधिवेशनमा भण्डारीलाई नै अघि सार्नुपर्ने पक्षमा खुलेर लागेका छन्।

कुनै न कुनै रूपमा पार्टीका कार्यक्रममा उनलाई निम्त्याइएको छ। कतिपय कार्यक्रम त उनलाई निम्त्याउनकै लागि आयोजनासमेत गरिएको छ। दुई वर्षको अवधिमा सबैतिर पुग्न सके परिणाम आफ्नो पक्षमा आउने भण्डारी पक्षका नेताको बुझाइ छ।

भण्डारीलाई एमालेमा सक्रिय बनाएर वाम एकताको आधार बनाउन लागिपरेको तर्क उनीहरू गर्छन्। भण्डारीले पनि आफूकहाँ भेट्न आउने प्रायः एमाले नेता–कार्यकर्तालाई भन्ने गरेकी छन्, ‘नेतृत्वले राम्रोसँग अभिभावकत्व ग्रहण गर्न सकेको भए पार्टी विभाजन हुँदैनथ्यो कि?’

ओली भने भण्डारीतर्फ पार्टीपंक्ति उन्मुख नहोस् भनेर सजगतापूर्वक नेतालाई फकाइरहेका छन्। पार्टीभित्र गुटको आवश्यकता नभएको र आफूले सबैलाई समान व्यवहार गर्ने भनेर उनी आश्वस्त तुल्याउन खोजिरहेका छन्।

उनको यो प्रस्तुति भण्डारीका कतिपय अभिव्यक्तिको जवाफका रूपमा लिन सकिन्छ। 

आइतबार च्यासलमा २ घण्टा १७ मिनेट बोलेका ओलीले अधिकांश समय प्रस्टीकरणमै खर्चिए। 

‘पार्टीभित्र गुट छैन, त्यसको जरुरी पनि छैन, म छँदै छु, सबैलाई मिलाएर म लगिहाल्छु,’ एमालेका कार्यकारी पदमा बसेका सबै नेता उपस्थित कार्यशालालाई सम्बोधन गर्दै  ओलीले भने। 

एमालेका नेता विशाल भट्टराईका अनुसार अबको ७ वर्ष भण्डारीलाई एमालेमा सक्रिय गराउने सम्भावना न्यून रहेको सन्देश अध्यक्षले दिइसकेका छन्। 

‘अबको नेतृत्व पनि केपी शर्मा ओली नै हो भन्ने प्रस्ट छ,’ उनले भने, ‘अझै महाधिवेशन आउन दुई वर्ष बाँकी छ। यदि स्वास्थ्यमा समस्या नआए, फेरि उहाँ नै अध्यक्ष बन्ने हो।’

भण्डारी राजनीतिमा फर्कने चर्चाले एमालेभित्र हलचल मच्चिएको नेताहरू स्वीकार गर्छन्। तर, त्यो सम्भावना तत्काल नभएको ओलीनिकट नेता भट्टराई दाबी गर्छन्।

‘पाँच–सात वर्ष भण्डारी राजनीतिमा फर्कने कुनै सम्भावना छैन,’ उनले भने, ‘त्यसपछि राजनीति कसरी विकास हुन्छ, हेरौँ।’

यसअघि अध्यक्ष ओलीले भण्डारीलाई सक्रिय राजनीति नगर्न र राष्ट्रपति भइसकेको व्यक्तिले पदको मर्यादा हेक्का राख्न सुझाव दिएका थिए।

२०८० साउन २९ गते पार्टी कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकमा उनले राजनीतिमा आउने रहर नगर्न भनेका थिए। 

‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ। फेरि राजनीतिमा आउनु राम्रो होइन,’ त्यसबेला ओलीले भनेका थिए, ‘कसैले पनि त्यस्तो चाहना राख्नुहुन्न। अहिलेको आवश्यकता पूर्वराष्ट्रपति राजनीतिमा फर्कने होइन।’

त्यसैको अघिल्लो दिन अर्थात् २०८० साउन २८ गते पार्टी कार्यालय, च्यासलमै उनले पत्रकार सम्मेलन गरेर समेत नेताहरूले निरन्तर भेटिरहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए।  

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताको एउटा आदरणीय व्यक्तित्व हुनुहुन्छ र फेरि त्योभन्दा अगाडि हाम्रो नजिकको मित्र हो। हाम्रो उपाध्यक्ष पनि हो, हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु सामान्य हो। विष्णु पौडेलजीले मात्र होइन, मैलै पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नुभएको छ,’ ओलीले भनेका थिए, ‘यस्तो विषयलाई कार्ड नै छपाएर लिएर जानुभएको रहेछ, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गरेको भन्ने यी खालका प्रयासहरूलाई मलजलका साथ साथीहरूले नबुझिकन गरिन्छ, कहिलेकाहीँ यसो नगरे हुन्थ्यो।’

राष्ट्रपतिका रूपमा ७ वर्ष शीतलनिवासमा बिताएपछि २०७९ फागुनमा भण्डारी त्यहाँबाट बाहिरिएकी थिइन्। त्यसयता सरकारी सेवा सुविधासमेत त्यागेर निजी आवासमै बसेर एमालेकै नेतासँग भेटवार्ता जारी राखेकी छन्। त्यो क्रम अहिलेसम्म पनि जारी छ। अझ ओलीका कुनै बेलाका खास विश्वासपात्र नै भण्डारीको पक्षमा खुलेर लागेका छन्।

ओलीले रोक्न खोज्ने र पार्टी नेताहरूले सक्रियता बढाउन खोज्ने क्रम देख्न सकिने गरी बढेको छ।

२०८० वैशाख १० गते नेपालमा कम्युस्टि पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारी एमालेकै मञ्चबाट ओलीले भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेका थिए। उनको त्यो सम्मान पार्टी राजनीतिमा भण्डारीको सम्भावित आगमन रोक्न र पार्टीको घेराभन्दा माथि नै बस्नका लागि सार्वजनिकरूपमा दिएको अर्को सन्देश थियो।

तर, भण्डारीको क्रियाशीलता त रोकिएको छैन नै। कतिपय पदाधिकारी तहकै नेताहरू दुई खेमामा विभक्त भई एउटा भण्डारी पक्ष र अर्को ओली पक्ष भएको कुरा एमालेको तल्लो तहसम्मै पुगेको छ। जुन कुरा ओलीले आइतबारको कार्यक्रममा पनि स्वीकारेका छन्। 

उपनिर्वाचन (मंसिर १६) सकिएको १४ दिनपछि राखिएको राष्ट्रिय कार्यशालामा ओलीले पार्टीभित्रको गुटबन्दीलाई पनि भण्डारीलाई उचाल्ने कामसँग जोडे।

‘उपाध्यक्ष (विष्णु पौडेल) र महासचिव (शंखर पोखरेल) को नाममा पनि गुटबन्दी भएको हल्ला सुन्छु, यो गुटबन्दी गर्नुपर्ने केही जरुरी छैन,’ पौडेल र पोखरेलकै सामुन्ने ओलीले भने, ‘गुटबन्दी किन गर्नुभएको हो? उहाँहरूलाई सोध्दा होइन भन्नुभएको छ।’ 

भण्डारीलाई सक्रिय बनाउन जोड गरिरहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा अध्यक्ष ओलीलाई आफ्नै भनाइ स्मरण गर्न सुझाव दिन्छन्।

‘अस्ति न उहाँले आफैँ भन्नुभएको होइन त पूर्वराष्ट्रपतिले पार्टीमा आउन सक्नुहुन्छ, प्रधानमन्त्री बन्न पाउनुहुन्छ, पार्टीको अध्यक्ष बन्न सक्नुहुन्छ,’ थापाले भने, ‘देशको राष्ट्रपति भइसकेका व्यक्ति कसैले उचालेर होइन, विवेकमा चल्नुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad