राजनीति


‘जाडो छल्न’ पूर्वराष्ट्रपति भण्डारी मितिनी गाउँ पुग्दा

सक्रिय राजनीतिमा आउनुस् भन्नेलाई भण्डारीको जवाफ : ओलीजस्तो रातभर बस्न, समय दिन सक्दिनँ
‘जाडो छल्न’ पूर्वराष्ट्रपति भण्डारी मितिनी गाउँ पुग्दा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा मितिनी तथा पोखरा उपमहानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङसँग


वाशुदेव मिश्र
पुस ११, २०८१ बिहिबार १८:४१, पोखरा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुसको पहिलो साता पोखरा र स्याङ्जाको भ्रमण गरिन्। पुस ४ र ५ गते पोखरामा आयोजित ‘फेवा संवाद’को प्रमुख अतिथि बन्न उनी पुस २ गते नै पोखरा झरेकी थिइन्। 

सो कार्यक्रम त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिज (सीसीएसएस) को संयुक्त आयोजनामा भएको थियो। उद्घाटन सत्रमा उनले औपचारिक मन्तव्य दिइन्। त्यो मन्तव्यको खासै चर्चा पनि भएन।

तर, पोखरा बसाइको क्रममा उनले गरेका भ्रमण र अनौपचारिक भेटघाट, वार्ता अनि एमालेको बिग्रँदो संगठनप्रतिको चासोलाई ‘सक्रिय राजनीति’को चाहनाकै रूपमा अर्थ्याइयो। यद्यपि, एमालेका वरिष्ठदेखि कनिष्ठ नेतासम्मको भेटघाटमा उनले सोझै सक्रिय राजनीतिमा फर्कने घोषणा भने गरिनन्।

पुस २ गते मंगलबार पोखरा झरेकी उनलाई एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले विमानस्थलमै पुगेर स्वागत गरेका थिए। उनको स्वागतमा थापा मात्र नभएर गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसी, प्रदेश सांसदहरू देवका पहारी, राजकुमारी भु्जेल, पोखराकी उपमेयर मञ्जुदेवी गुरुङलगायतका नेता/कार्यकर्ता पुगेका थिए।

एमालेका केन्द्रीय सदस्य कृष्ण थापाका अनुसार पूर्वराष्ट्रपति भण्डारी औपचारिक कार्यक्रमको छेकोमा अनौपचारिक भ्रमणका लागि पोखरा आएकी थिइन्। 

खसम खोस्ने त्यो दुर्घटना र सैनीको गाउँ 
भण्डारीको पोखरासँग दुःखद अतीत र आत्मियता जोडिएको छ। उनले श्रीमान् तथा तत्कालीन एमालेका महासचिव मदन भण्डारीलाई पोखराबाट फर्कने क्रममा नै गुमाएकी थिइन्।

२०५० साल जेठ ३ गते पोखरामा आयोजित एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गरी फर्कने क्रममा मदन र जीवराज आश्रित चढेको बा.अ.प.८७९३ नम्बरको पजेरो गाडी साँझ ५ बजेतिर मुग्लिन–चितवन सडक खण्डको दासढुंगामा दुर्घटनामा परेको थियो। 

दुई साना छोरीहरूसहित गृहिणी र राजनीतिमा सक्रिय विद्याको जीवनमा अध्याँरो खस्यो। साना नानीहरूलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो। तर, उनी शोकमा बस्न पाइनन्। विद्यार्थी जीवनदेखि नै पार्टी राजनीतिमा सक्रिय उनलाई एमालेले मदनलाई संसद् प्रवेश गराउने काठमाडौँ क्षेत्र नम्बर २ को उपनिर्वाचनको उम्मेदवार बनायो। २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उनी सांसदको उम्मेदवार बनिन्। विजयी बनिन्। २०५४ सालमा भएको एमालेको छैटौँ महाधिवेशनमार्फत् उनी पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भइन्।

२०५९ सालतिरको कुरा हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमार्फत् कृष्ण थापा सचिवमा चुनिए। अवकाशप्राप्त क्याप्टेन मानबहादुर गुरुङ सदस्यमा आए। घोषणा सभामा एमाले केन्द्रीय सदस्य भण्डारीलाई प्रमुख अतिथि बनाइयो। 

‘हामी त मदन कमरेडले देखाएको बाटोमा हिँडेको मान्छे। मदन कमरेडसँगको बिछोडको पीडा बिर्सनकै लागि उहाँ (विद्या) लाई निम्त्याइएको थियो,’ ती दिन सम्झँदै थापा भन्छन्, ‘घोषणा सभा भइसकेपछि उपमेयर (थापा पोखराको मेयर हुँदा क्याप्टेन गुरुङ उपमेयर थिए) को सैनी (मितिनी) लगाइदिने कुरा भयो। सम्माननीय पूर्वराष्ट्रपति र हाल पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङबीच हाम्रै रोहबरमा विधिपूर्वक पण्डित राखेर मितिनी सम्बन्ध कायम गराइयो।’

थापाका अनु्सार विद्यादेवी र मञ्जुदेवीको उमेर र पीडा समान भएकाले मितिनी साइनो लगाइदिने सल्लाह भएको थियो रे।

‘उहाँहरू दुवैले पति वियोग भोग्नुभएको, दुवैको उमेर पनि समान, बालबच्चा पनि दुईवटै भएकाले क्याप्टेनसाब र मैले त्यो सल्लाह गरेका थियौँ,’ उनले भने, ‘त्यो बेला दुवै मितिनीहरू खुसी हुनुभयो। त्यसयता उहाँसँग हाम्रो भावनात्मक सम्बन्ध छ।’ 

हो, विद्या त्यही भावनात्मक सम्बन्ध जोडिएको पोखरा आएकी थिइन्। राष्ट्रपति हुँदाजस्तो ‘प्रोटोकल’ को ठूलो भारी पनि थिएन। विमानस्थलमा स्वागत गर्न आएकाहरूसँग सामान्य भलाकुसारीपछि उनी त्यही दिन पोखरा २२, पुम्दीकोटमा रहेको शिवमन्दिर क्षेत्रको भ्रमणमा निस्किइन्। साथमा पोखरा उपमहानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङसहित एमालेका नेताहरू सहभागी थिए।

पुम्दीकोटमा पूर्वराष्ट्रपति भण्डारीलाई शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त बरालले स्वागत गरे। उनले तस्बिरहरू खिचाइन्। जलवायु परिवर्तनले हिमालमा हिउँ देखिन छाडेकोमा तथा पर्यावरण बिग्रँदै गएकोमा उनले चिन्ता जाहेर गरिन्।

‘निर्वाचित जनप्रतिनिहरूको ध्यान भौतिक निर्माणमा मात्रै छ। जनप्रतिनिधिहरू भनेको त यहाँका प्राकृतिक सम्पदा, किरा–फट्याङ्गाहरूको पनि हो नि,’ उनको भनाइ उधृत गर्दै एमाले केन्द्रीय सदस्य थापाले भने, ‘जनप्रतिनिधिहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्‍यो नि।’

अनौपचारिक तर अर्थपूर्ण भेटघाट 
होटल ग्रान्डमा बसेकी विद्या स्वयंले कसैलाई भेट्ने कार्यतालिका थिएन। भेट्न आउनेहरूसँग भने व्यक्तिगत र सामूहिक छलफल गर्ने प्रबन्ध मिलाइएको थियो। कास्की इन्चार्ज कृष्ण थापाले नै त्यसको जिम्मेवारी लिएका थिए। 

पुस ३ गते बुधबार उनले यहाँको सराङकोट, कास्कीकोटलगायतका क्षेत्रहरूको भ्रमण गरिन्। त्यही दिन गण्डकीका पूर्वमुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीदेखि अन्य नेताहरूलाई उनले होटल ग्रान्डमै भेटिन्।  

पूर्वराष्ट्रपतिलाई भेट्न जानेमा अधिकांश नेतृहरू थिए। 

‘अखिल नेपाल महिला संघको पूर्वअध्यक्ष भएको नाताले पनि चिनजानकाहरू उहाँलाई भेट्न पुग्नु अस्वाभाविक हैन,’ केन्द्रीय सदस्य थापाले भने, ‘नेताहरू भेट्न आउँदा राजनीतिक कुराकानी स्वाभाविक हो।’

गण्डकी प्रदेश सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य भीम कार्कीका अनुसार भेट अनौपचारिक खालको थियो। 

‘मैले सम्माननीयलाई एक्लै भेटेको हुँ, सामान्य हालखबर सोध्ने काम भयो,’ उनले भने, ‘जनसम्पर्कमा नआएको धेरै भयो, अनौपचारिक रूपले ५/७ वर्षपछि बल्ल पोखरा आएको हुँ भन्नुभयो, सक्रिय राजनीतिमा आउने संकेत चाहिँ गर्नुभएन। भ्रमणको उद्देश्य नै जनसम्पर्कमा आउनु भएको बताउनुभयो। फेसबुकमा फोटो हेर्दा ५० प्रतिशत एमाले नेताले भेटेको जस्तो देखिन्छ।’

केन्द्रीय सदस्य कृष्ण थापाका अनुसार भेटघाटका क्रममा केही नेता/कार्यकर्ताले उनलाई सक्रिय राजनीतिमा आउन आग्रह चाहिँ गरेका थिए। उनका अनुसार एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसम्मले पूर्वराष्ट्रपतिलाई भेटेका थिए।  

थापाले भेटको क्रममा आफूहरूले राजनीतिक कुराकानी नगरेको बरु सुरेन्द्र पाण्डेसहितका नेताहरूले चाहिँ त्यस्तो कुरा गरेको हुनसक्ने बताए। तर, उपाध्यक्ष सुरेन्द्र पाण्डेले चाहिँ आफूले पूर्वराष्ट्रपतिलाई नभेटेको बताए। उनले नेपालखबरसँग टेलिफोनमा भने, ‘म त उहाँ जानुभन्दा धेरैअघि नै पोखराबाट फर्केको हो। भेट भएन।’ 

केन्द्रीय सदस्य थापाका अनुसार भेटघाटको क्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेभित्र अराजकता, अनुशासनहीनता मौलाएको, स्वार्थी र अवसरवादी प्रवृत्ति हाबी भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन्। मदन भण्डारीले सोचेजस्तो पार्टी बनाउन पाए हुन्थ्यो भन्ने चिन्ता पनि उनमा देखिन्थ्यो। 

सक्रिय राजनीतिमा आउनेबारे उनले के भनिन् त?

‘सक्रिय राजनीतिमा आउनका लागि पार्टीको संस्थागत निर्णय नै भयो भने एउटा कुरा हो। अहिले हाम्रो पार्टी अध्यक्ष श्रद्धेय केपी ओली हुनुहुन्छ। आवश्यकता पर्‍यो भने नौलो कुरा पनि भएन। देशको आवश्यकताले हुँदै हुँदैन भन्ने पनि छैन। समय छ, अझै छ नि त,’ ११ औँ महाधिवेशन आउन समय बाँकी रहेकोतर्फ संकेत गर्दै थापाले भने, ‘उहाँ राष्ट्रको अभिभावक भइसक्नुभयो। अझै बरु उहाँले हाँसो गर्दै के भन्दै हुनुहुन्थ्यो भने यहाँ यस्तो कुरा उठेको छ, म केपी ओलीजस्तो रातभर बस्नसक्ने, समय दिनसक्ने, जहाँ पनि जाने गर्न सक्दिनँ। त्यस्तो गर्नपर्‍यो भने त ...।’ 

पुस ५ गते चाहिँ पूर्वराष्ट्रपति भण्डारी स्याङ्जा पुगेकी थिइन्। उनलाई स्याङ्जा एमालेका नेताहरूले स्वागत गरेका थिए। स्वागतको क्रममा सञ्चो बिसन्चोको कुरा मात्र भएको स्याङ्जा एमालेका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलको भनाइ छ।

राजाको कुलदेवता मन्दिर पुगिन् 
सभासद पौडेलका अनुसार विद्याले स्याङ्जा भ्रमणको क्रममा कालीगण्डकी ३ मा रहेको आलमदेवी मन्दिरको दर्शन गरेकी थिइन्। आलमदेवी शाहवंशको कुलदेवताको मन्दिर हो। यो मन्दिर १९१३ सालमा स्थापना भएको हो। स्याङ्जाकै फेदीखोला गाउँपालिकामा रहेको गोर्खा स्मारकमा पनि उनी पुगेकी थिइन्। 

‘काठमाडौं चिसो। यहाँ आएर फ्रेस भएँ भनेर खुसी व्यक्त गर्नुभयो। उहाँ रूपाकोट रिसोर्ट जानुभयो। साँझ गण्डकी र पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेर्नुभयो,’ आफूले पूर्वराष्ट्रपतिको राजनीतिक र सामाजिक भेटघाटको प्रबन्ध गरेको बताउने थापाले भने, ‘राष्ट्रिय समस्याबारे पनि धेरथोर कुरा भयो।’

उनकी सैनी (मितिनी) तथा पोखरा उपमहानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङका अनुसार पूर्वराष्ट्रपतिको भ्रमण नितान्त निजी थियो। 

‘पहिला–पहिला पनि पोखरा आउनुहुन्थ्यो। मेरैमा बस्नुहुन्थ्यो। राष्ट्रपति भएपछि प्रोटोकलले मकहाँ बस्न मिलेन। यो पटक धार्मिक स्थलको भ्रमण पनि गरौँ, काठमाडौँको चिसो पनि छलौँ। पोखरा केही न्यानो होला भनेर आउनुभएको हो,’ उनले भनिन्, ‘भेटमा पारिवारिक कुराकानी भए। राजनीतिक कुरा खासै भएन। उहाँको राजनीतिमा आउने चाहना भएजस्तो पनि लाग्दैन।’

यद्यपि, पार्टीले नै निर्णय गरेमा चाहिँ उनी राजनीतिमा फर्कनसक्ने गुरुङको भनाइ छ।

‘पार्टीले उहाँलाई सर्वोच्च पदमा पुर्‍यायो। पार्टीले सक्रिय राजनीतिमा फर्कनुपर्ने आवश्यकता देख्यो भने, निर्णय गर्‍यो भने चाहिँ त्यो सम्भावना बाँकी छ,’ उनले थपिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad