राजनीति


पार्टीमा बहसलाई बन्देज गर्नु कुनै कोणबाट पनि उचित होइन : एमाले नेता थापा

पार्टीमा बहसलाई बन्देज गर्नु कुनै कोणबाट पनि उचित होइन : एमाले नेता थापा

नेपालखबर
पुस १८, २०८१ बिहिबार १५:२, काठमाडौँ

नेकपा एमालेले तीन केन्द्रीय नेतामाथि कारबाही गरेपछि पार्टीभित्र नेतृत्वको आलोचना र प्रतिरक्षाको क्रम तीव्र बनेको छ।

केन्द्रीय तहका नेताहरू नै यसको पक्ष र विपक्षमा बाँडिएका छन्। यसै क्रममा एमाले स्थायी समितिका सदस्य कर्णबहादुर थापाले पार्टीमा बहसलाई बन्देज गर्ने कुरा कुनै कोणबाट उचित नहुने भनी टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा कसैको नाम नलिएर स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणको शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका छन्। 

उनले लेखेका छन्, ‘स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म हो। तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन।’

एमाले सचिवालय बैठकले पुस १० गते पूर्वउपाध्यक्ष डा भीम रावल, स्थायी समिति सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि कारबाही गरेको थियो। रावलको सदस्यतासमेत खोसेर उनलाई पार्टीबाट निकाला गरिएको छ भने पाण्डे र तिम्सेनालाई ५ महिनाका लागि निलम्बन गरिएको छ।

विचारमा आधारित भएर राजनीतिक बहस गर्न सकिने र त्यसमा बन्देज लगाउन नहुने स्थायी समिति सदस्य थापाको धारणा छ।

‘अराजकता र अनुशासनहीनता पनि कहीँ स्वीकार्य हुँदैन,’ उनले लेखेका छन्, ‘विचार र विश्लेषणको शृंखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्यु हुन्छ। विचारमा आधारित भएर राजनीतिक बहस गरौँ। सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ। एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ। असभ्यताको प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन।’

रावल सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने एमालेका सबैभन्दा उपल्लो तहका नेता थिए। सुदूरपश्चिमकै थापाले रावल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादका लागि पहल गरेका थिए, जुन कुरा बुधबार रावलले पत्रकार सम्मेलनमा पनि बताएका थिए। रावलले पत्रकार सम्मेलन गरी अब बेग्लै अभियान सञ्चालन गरी त्यसबाट पार्टी निर्माण गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad