नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताए।
अध्यक्ष नेपालले कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताए।
विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गरे। भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो? भन्दै प्रश्न गरे। उनले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताए।
काठमाडौंस्थित त्रिभूवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको नेता नेपालले उल्लेख गरे।
अध्यक्ष नेपालले भने, ‘पोखराको हालत त्यही, लुम्बिनीको हालत त्यही, जतिसुकै बल गर्यौं भनेपनि लुम्बिनी विमानस्थल जुन ठाउँमा बनेको छ त्यो चल्ने अवस्था छैन भन्ने सबैतिरबाट सुनिन्छ। भारतको सिमानाभन्दा कति टाढा राख्दाखेरि त्यो हुन सक्दछ? कहिले बनाउन सक्दा हुनुपर्दछ? यी सबै विषयमा त्यसलाई क्षेत्रीय विमानस्थलको रुपमा संचालन गर्नु एउटा कुरा भयो। बनाउनै काठमाडौंको विकल्पमा बन्नुपर्ने विमानस्थलमा निजगढ हो। लुम्बिनी विमानस्थल कस्को दबाबमा बनाइयो?’
भैरहवा विानस्थललाई डोमेस्टिक विमानस्थलको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया