राजनीति


एमालेको आगामी अध्यक्ष को हुन्छ, निश्चित छैनः योगेश भट्टराई

विद्या भण्डारी अध्यक्ष बनिन् भने ओलीकै सहमतिमा बन्ने दाबी
एमालेको आगामी अध्यक्ष को हुन्छ, निश्चित छैनः योगेश भट्टराई

फाइल तस्बिर: केपी शर्मा ओली, योगेश भट्टराई र विद्या भण्डारी


नेपालखबर
पुस १८, २०८१ बिहिबार ११:५२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी कार्यकालको पार्टी अध्यक्ष पनि केपी शर्मा ओली नै हुने ठोकुवा गरिरहेका बेला सचिव योगेश भट्टराईले भने फरक मत राखेका छन्। 

एक टीभीसँगको अन्तर्वार्तामा सचिव भट्टराईले एमालेको आगामी अध्यक्ष को हुन्छ भनेर अहिले भन्नु हतार हुने बताएका हुन्। 

‘अहिले हतार हुन्छ, हतार गर्ने बेला भा’छैन- त्यो विषयमा छलफल गर्न। एउटा कुराचाहिँ तपाईंलाई प्रस्ट बताउँछु’, भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो पार्टीमा भोलि को अध्यक्ष हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन, निश्चित छैन। त्यो भन्नु पनि हुँदैन, त्यो हतारो हुन्छ, पार्टीभित्र किन तनाव उत्पन्न गर्ने!’

एमालेको एघारौँ महाविधवेशन आउन अझै २ वर्ष बाँकी रहेकाले अहिले नै आगामी अध्यक्षका विषयमा अनुमान गर्न ठीक नहुने जिकिर उनले गरे। 

‘एमालेमा आउने दिनको अध्यक्ष केपी शर्मा ओली फेरि पनि हो कि? पार्टीको विधानले त ७० को प्रावधान राख्यारैछ, उहाँ त ७४, ७५, ७६ कत्ति भइसक्नुभो क्यारे, त्यो विधान के भो, विधानसम्मत, पार्टीमा त त्यो पनि कुरा हुन्छ, अनुशासनको कुरा होला, त्यो के होला?’ 

यो प्रश्नमा भट्टराईले भनेका छन्‘एमालेको सन्दर्भमा यो समय आइसक्या छैन, २ वर्ष छ महाधिवेशन आउन।’

‘तपाईंहरू त्यतिबेला बोल्नुहुन्छ त? बोल्यो भने केपी ओलीले चाबुक लाइहाल्नुहुन्छ फेरि?’ 

जवाफमा एमाले सचिव भट्टराईले आफू कारबाही भोगेरै आएको मान्छे भएको उल्लेख गर्दै त्यस विषयमा कुनै डर नभएको दाबी गरे।  

‘चाबुक लाए के हुन्छ? एउटा कुरा तपाईंले भनेको कुरा हुँदैन, मानौँ भयो रे, के हुन्छ? म पनि कारबाही भोगेरै आएको मान्छे हुँ’, भट्टराईले भेनका छन्, ‘म त माधव नेपाल प्यानलको मान्छे, मलाई माधव नेपालले नै अखिलको अध्यक्षबाट हटाइदिनुभयो, छैटौँ महाविधेशनमा पार्टी सदस्यबाटै निष्कासन भएको मान्छे हुँ, फेरि यही पार्टीमा बसेर म सचिव छु, संसदीय विभाग प्रमुख छु।’ 

यस्तै एमाले सचिव भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग आफ्नो भेटघाट भइरहेको स्वीकार गर्दै भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने कुरा निश्चित भइनसकेको दाबी पनि गरे। 

‘भेट्या छु, किन नभेट्नु? उहाँका अनुभवहरू सेयरिङ गर्न पनि भेटिन्छ, उहाँले आजको अवस्था के छ भनेर सोध्नुहुन्छ, उहाँ राष्ट्रपतिबाट बिदा भएपछि दुईपटक भेटेँ होला सम्भवतः, उहाँको कुरा सुन्या छु’, भट्टराईले भनेका छन्, ‘पूर्वराष्ट्रपति (एमालेमा) आउने कि नआउने भन्ने बहस मिडियामा छ, तपाईंहरूले चलाइराख्नुभएको छ, त्यो बहस ठीक छ, मसँगको भेटमा उहाँले त्यस्तो कुरा भन्नु भा’छैन। मभन्दा माथि अध्यक्षसँग के कुरा गर्नुभा’छ, त्यो थाहा छैन। तपाईंलाई प्रस्ट भन्छु भनेको कुरा के हो भने पूर्वराष्ट्रपति नेकपा एमालेको कुनै पनि नेतासँग पार्टीभित्रको चुनावी प्रतिस्पर्धामा भाग लिएर अध्यक्ष हुनेगरी आउनुहुन्छ जस्तो मलाई लाग्दैन।’ 

‘यसको अर्थ ओलीजीले नै आफू अप्ठेरोमा परेपछि तपाईं आएर नेतृत्व गरिदिनू कृपया भन्नुहुन्छ?’  

उक्त प्रश्नको जवाफमा भट्टराईले भनेका छन्, ‘त्यो स्थिति आयो भने हामी उहाँले एक्टिभ पोल्टिक्समा आउनु उचित हुन्छ कि हुँदैन भनेर हामी छलफल गर्छौँ। मिडियामा बहसहरू आइरहेको छ नि, आउनुहुन्छ कि हुँदैन? इन्टरन्यास्नल प्राक्टिस के छ, कसो छ? हाम्रो संविधानले छेक्या पनि छैन। भोलि उहाँ पार्टीको पोल्टिक्समा आएर हामीलाई लिड गर्नुपर्ने अवस्था आयो भने यति कुराचाहिँ भन्छु कि अहिलेका वर्तमान अध्यक्षको सहमतिमा हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad