सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा आगामी कार्यकालको अध्यक्ष पनि केपी शर्मा ओली नै हुने दाबी गरेका छन्।
अहिलेसम्म एमालेमा ओलीसँग तुलना गर्न मिल्ने अर्को नेतै नभएको जिकिर गर्दै उपाध्यक्ष पौडेलले एघारौँ राष्ट्रिय महाधिवेशनबाट पनि सर्वसम्मतिका साथ ओली नै अध्यक्षमा निर्वाचित हुने बताएका हुन्।
‘हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले नेकपा (एमाले) लाई मात्र होइन, सिंगो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहनुभएको छ। उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा (एमाले) मा छैन। अनि किन खोज्नुपर्यो नेतृत्वको विकल्प’, राससलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेतृत्व भनेको रहरको विषय पनि होइन। यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको विषय पनि हो। म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ। यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन।’
ओलीप्रति समस्त पार्टी पङ्क्तिको उच्च सम्मान र भरोसा रहेको दाबी गर्दै उपाध्यक्ष पौडेलले उनको उच्च प्रशंसा गरेका छन्।
‘उहाँ एकपटक देखेको, सुनेको र भोगेको प्रसंग कहिल्यै नबिर्सने असाधारण स्मरण शक्ति भएको ‘इन्साइक्लोपेडिया’जस्तो विलक्षण प्रतिभाको पनि धनी हुनुहुन्छ’, पौडेलले भनेका छन्, ‘यसका साथै समस्त नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो भनेर सूत्रबद्ध गर्ने नेपाली विशेषताको समाजवादका स्वप्नद्रष्टा एवं नेपालले विरलै प्राप्त गर्न सक्ने एक राजनेताका रूपमा मैले उहाँलाई बुझेको छु। अध्यक्ष ओलीमा अप्ठ्यारोलाई सजिलोसँग भोग्न सक्ने र सजिलोलाई सामान्य रूपमा लिन सक्ने असाधारण खुबी छ। त्यस्तै उहाँसँग परिस्थिति बुझ्ने र समाधान खोज्ने विलक्षण क्षमता पनि छ।’
Shares

प्रतिक्रिया