नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीपी (विश्वेश्वरप्रसाद कोईराला)को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु वीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए।
उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे। आफूलाई भनेको कुरा वीपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाए।
उनले भने, ‘हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरेता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्यो भने कहाँ गएर खोज्ने भने विपीले यस्तो भन्नुभएको थियो भन्ने। वीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न। वीपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने। त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने। नेपाली कांग्रेस पार्टीमा म पछिल्लो समय हेर्छु। हाम्रो पार्टीभित्र कयौँ विषयहरु छन्। मन नपर्ला, कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला। कसैलाई के मन नपर्ला। यो त प्रोग्रामका कुराहरु हुन्। बढो सजिलोसँग पार्टीको बैठकमा वा यस्ता मञ्चहरुमा सबै ठाउँमा हाम्रो बीचमा वादविवाद, विमर्स हुँदै गर्दा मान्छेले यो कुरा ठिक भएन भन्दै गर्दा वीपी कोईरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ। धर्मका सन्दर्भमा पनि यो कुरा बढो जोडतोडले आएको छ। वीपीको पार्टी भएर वीपीको बाटो छोड्ने भन्छन् ।’
राज्यको धर्म जनतालाई न्याय दिनु भएको उल्लेख गर्दै थापाले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताए।
Shares

प्रतिक्रिया