प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज (मंगलबार) प्रदेश २ सभामा मतदान हुँदै छ।
राजधानीको बिषयमा सहमति जुटेपनि नाममा सत्तारुढ र प्रतिपक्षी दलबीच विवाद हुँदा मतदानबाट टुंगो लगाउन लागिएको हो।
मतदानको लागि बिहान ८ बजे नै प्रदेशसभा बैठक डाकिएको प्रदेशसभा २ सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।
प्रदेशको राजधानी र नाम सम्बन्धमा बिभिन्न दल तथा सांसदले गत ५ भदौमा प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।
सबै दलले राजधानीको रुपमा जनकपुरधामलाई नै प्रस्ताव गरे पनि नाम भने फरक–फरक पस्ताव गरेका छन।
सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’ र काँग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छ।
नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो।
विशेष समितिमा दलहरुबीच स्थायी रजाधानीमा जनकपुरधाममा सहमति भइसकेको छ।
तर, नाममा दलहरुले आ–आफ्नै अडान दोर्होयाएपछि मतदानबाट टुंगो लगाउन लागिएको हो।
विशेष समितिले फागुन २९ गते प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा नाम र राजधानी बिधि प्रक्रिया मार्फत टुंगो लगाउन मतदानमै जान सुझाब दिइएको छ।
प्रदेशसभामा रहेका सदस्य संख्याको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउन सक्ने संवैधानिक व्यवस्था छ।
प्रदेश २ को प्रदेशसभामा १ सय ७ सांसद छन। सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, सत्ता साझेदार राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र एक स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया