समाज


परीक्षा छाडेर स्कूलबाट भागेका दुई बालिकालाई जब मन्त्रीले सडकमा भेटिन्...

परीक्षा छाडेर स्कूलबाट भागेका दुई बालिकालाई जब मन्त्रीले सडकमा भेटिन्...

शुरबहादुर सिंह
चैत ४, २०७६ मंगलबार ३:४२,

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो।

भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा बेच्न राखेको केरामा उनका आँखा पुगे। चालकलाई गाडी रोक्न लगाइन्। गाडी तिब्र गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर पर पुगेर रोकियो।

गाडी रोकिएपछि आठ/नौ वर्षका दुई अपरिचित बालिका आएर ‘हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ’ भन्दै चालकलाई आग्रह गरे। चालकसँग ती बालिकाले गरेको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान बालिकातिर गयो।

उनले दुवै बालिकालाई आफू नजिक बोलाएर सोधिन्, ‘नानीहरु कहाँ हो तिमीहरुको घर? दुवै यतिबेला कहाँ जान लागेका? तिमीसँग ठूला मान्छे कोही छैनन्?’

दुईमध्ये एक बालिकाले आत्तिदै भनिन्, ‘हाम्रो घर भ¥याङ खोरियो हो। त्यहाँबाट तीन घण्टा हिँडेर आएको। हामी सुर्खेत बसपार्कमा रहेका मामा कहाँ जान लागेका।’ अन्य प्रश्नको भने उनीहरुले उत्तर दिएनन्।

‘तिम्रो मामाको नाम के हो?,’ मन्त्री केसीले सोधिन्। बालिकाले भनिन्– ‘थाहा छैन’।

‘तिम्रो घरमा बुबाआमा हुनुहुन्न? सानै छौँ त। तिमीहरु भागेर आएजस्तो लाग्छ, मलाई त...’ केसीले भनिन्।

बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्ने गरेको सुनाइन्। हातमा प्लाष्टिकको झोलामा केही लत्ताकपडा बोकेकी ती बालिकाले तारन्तार ‘पैसा दिन्छु मामा घर पु¥याइदिनु,’ भन्दै चालकलाई आग्रह गरिरहे।

तर ती बालिकाले बाँकी प्रश्नको उत्तर नदिएपछि मन्त्री केसीले ‘अरु कुरा नभन्ने हो भने ठिकै छ, तिमीहरुलाई प्रहरी कहाँ बुझाउँछौँ,’ भनिन्। यो सुन्नेबित्तिकै दुवै बालिका त्यहाँबाट भाग्न खोजे। तर उनले सम्झाइबुझाई गरेर उनीहरुलाई गाडीमा राखिन्।

दुई सय मिटर जतिअघि पुगेपछि सबैजना गाडीबाट ओर्लिए।

संयोगवशः त्यहाँ दुवै बालिका अध्ययन गर्ने मनिराम काँडा आधारभूत विद्यालय भेरीगङ्गा नगरपालिका–१ सुर्खेतकी शिक्षिका ललिता बुढाक्षेत्री भेटिइन्। बुढाक्षेत्री तीनै दुई बालिका खोज्दै त्यहाँ आइपुगेकी रहिछन्।

मन्त्री केसीले शिक्षिका बुढाक्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोधिन्। शिक्षिका बुढाक्षेत्रीले दुवै बालिका भेरीगङ्गा नगरपालिका–१ भ¥याङ खोरिया सुर्खेतका नौ वर्षीया दुर्गा सिंह र १० वर्षीया सुकमाया गुरुङ रहेको जानकारी दिइन्।

दुर्गा कक्षा ४ र सुकमाया कक्षा ३ की विद्यार्थी रहिछन्। दुवै बालिका ३५० रुपैयाँ बोकेर भागेका खुल्यो। उनीहरु सोमबारको परीक्षा नदिई भागेर पाँच घण्टा पैदल हिँडेर राजमार्गको सत्तरी भन्ने ठाउँमा पुगेका थिए। परिवारले उनीहरुको खोजी गरिरेहको जानकारी शिक्षिका बुढाक्षेत्रीले मन्त्री केसीलाई गराइन्।

शिक्षिका बुढाक्षेत्री विद्यालयबाट बिदा लिएर सुर्खेत पुग्न करिब तीन घण्टाको पैदलयात्र गरेर राजमार्गमा पुगेकी थिइन्।

मन्त्री केसीले बालिकाप्रति निकै दया राखेर उनीहरुप्रति चासो देखाएको भन्दै शिक्षिकाले उनीप्रति कृतज्ञता प्रकट गरिन्।

साँझ परिसकेको थियो। बालिकालाई घर पु¥याउन नसकिने भन्दै मन्त्री केसीले गाडीमा बालिकालाई वीरेन्द्रनगरसम्म पुर्याएर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाइन्।

2 RSS SBS surkhet balbalika2 rss 1

शिक्षिका बुढाक्षेत्रीसँग घरपरिवारलाई राम्रोसँग सम्झाएर बालिकालाई बुझाउन र उनीहरुलाई कुनै पनि मानसिक, शारीरिक र मनोवैज्ञानिक पीडा एवं तनाव नदिन मन्त्री केसीले आग्रह गरिन्।

उनीहरुको सही व्यवस्थापन हुन नसके तुरुन्त जानकारी गराउनसमेत मन्त्री केसीले आग्रह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad