गणपूरक संख्या नपुगेपछि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठक बस्न सकेन। दिउँसो २ बजेका लागि बोलाइएको समितिको बैठक स्थगित भएको हो।
बैठकमा विद्यालय शिक्षा विधेकमाथि दफावार छलफल सुरु गर्ने कार्यसूची थियो।
२ बजे बोलाइएको बैठकमा ३ बजेसम्म कुर्दा पनि बैठक बस्नका लागि आवश्यक सांसदको संख्या नपुगेपछि सभापति अम्मरबहादुर थापाले मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरे।
शिक्षा समितिमा रहेका २४ सांसदमध्ये आजको बैठकमा ९ जना मात्रै उपस्थित थिए। समितिको बैठक बस्नका लागि १३ जना सांसदको उपस्थिति आवश्यक हुन्छ।
शिक्षा समितिमा रहेका २४ सांसदमध्ये ११ जना पुरुष र १३ जना महिला छन्।
आजको बैठकमा उपस्थित सांसदहरूमध्ये एकजना पुरुष र ८ जना महिला थिए। समितिको बैठक बस्न कोरम नपुगेपछि महिला सांसदहरूले पुरुष सांसद उपस्थित नभएको भन्दै कुरा उठाएका थिए।
समितिको बैठकमा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि आएकी थिइन् तर कोरम नपुग्नाले समितिको बैठकै बस्न सकेन।
कहाँ गए सांसद?
आजको बैठकमा अनुपस्थित हुने सांसदमध्ये एक हुन्, एमाले सांसद कालुराम राई। उनी झापाबाट समानुपातिक सांसद हुन्। शिक्षा समितिका सदस्य राई तिहारदेखि नै जिल्लातिरै छन्।
समितिमा आज गणपूरक संख्या नपुगेको विषयमा राईले नेपालखबरसँग भने, ‘मैले पनि अघि समाचारमा हेरेर थाहा पाएँ, आज संख्या नपुगेर बैठक बस्न सकेनछ। अब भोलिको बैठक भ्याउनेगरी फर्किन्छु।’
प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान झापा पुगेका थिए। खासमा राई लगायत जिल्लाका अधिकांश सांसद उनलाई ‘रिसिभ’ गर्न झापामा थिए।
कुराकानीको केहीबेरमा राईले कारण खुलाए, ‘हाम्रो जिल्लाको नेता सम्माननीय प्रधानमन्त्री आउने। प्रधानमन्त्री भएपछि पहिलोपटक आउनुभएको। अनि हामी जिल्लाका प्रायः सांसद उहाँलाई रिसिभ गर्न बसेका थियौँ आज।’
दमक व्यापारिक कम्प्लेक्स उद्घाटनका लागि प्रधामन्त्री ओली आज झापा पुगेका थिए।
समितिको बैठकमा अनुपस्थित हुने अर्का सदस्य हुन्, एमाले सचिव समेत रहेका रुपन्देही १ का सांसद छविलाल विश्वकर्मा।
विश्वकर्मा यतिबेला निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन जिल्लामा छन्। पूर्वनिर्धारित कार्यक्रम भएकाले छोड्न नमिलेको उनले बताए।
विश्वकर्माले भने, ‘पूर्वनिर्धारित जनसरोकारका कार्यक्रमहरू छोड्न भएन, क्रमशः काठमाडौँ केन्द्रित हुने अवस्था बन्छ अब।’
आफन्त बितेकाले शुक्रबार काठमाडौँबाट चितवन गएको र त्यतैबाट जिल्ला गएको उनले बताए। जिल्लाको कार्यक्रम सकेर भ्याए भोलि बेलुका नत्र पर्सि फर्किने विश्वकर्माले जानकारी दिए।
आजको बैठकमा अनुपस्थित शिक्षा समितिका अर्का सदस्य हुन्, माओवादी केन्द्रका सचिव समेत रहेका बाग्लुङ २ बाट प्रतिनिधि सभा सदस्य देवन्द्र पौडेल।
पौडेल पूर्वशिक्षामन्त्री समेत हुन्। काम विशेषले हिजो भैरहवा पुगेका उनले भोलि फर्कने बताए।
‘भोलिको बैठकमा आउँछु म,’ पौडेलले भने।
मोरङ १ बाट प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बू पनि जिल्लातिरै छन्। अझै एक हप्ता काठमाडौँ फर्कने उनको योजना छैन। उनी कांग्रेस मोरङका सभापति पनि हुन्, पार्टीको अभियान र कार्यक्रमले हप्तादिन उनलाई उतै व्यस्त बनाउने छ।
लिम्बूले संसद् नभएको बेला सांसदहरूलाई समिति बैठकमा उपस्थित हुन कठिन हुने सुनाए।
‘संसदको बैठक भएको बेला जिल्लातिर आउन खास भ्याइँदैन, काठमाडौँ नै भइन्छ,’ लिम्बूले भने, ‘अहिले मौसम पनि राम्रो नभएकाले पटकपटक काठमाडौँ–जिल्ला गर्नलाई मुस्किल भइरहेको छ।’
पर्साबाट समानुपातिक सांसद प्रभु हजरा यतिबेला वीरगन्ज छन्। उनी पनि शुक्रबार जिल्ला झरेका हुन्। पार्टीको विभिन्न कार्यक्रम, गढीमाई मेला लगायतले उनी जिल्लामा व्यस्त भए। अब एकदुई दिनपछि मात्रै काठमाडौँ फर्कने उनको योजना छ।
एमाले जिल्ला इन्चार्ज समेत रहेका हजरा गढीमाईको मेलासँगै पार्टीको विभिन्न कामका लागि पनि अहिले जिल्ला झरेका थिए।
आज बैठकमा कोरम नपुगेको विषयमा हजराले भने, ‘गढीमाई मेलाले गर्दा हाम्रो तराईको सांसद दुई दिन कोही पनि हुँदैनन् भनेर मैले भनेको थिएँ।’
समितिको बैठकमा उपस्थित हुन नसकेका अर्का सांसद हुन्, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी।
सर्लाही १ बाट प्रतिनिधि सभा सदस्य चौधरी पनि यतिबेला जिल्लातिरै छन्। पारिवारिक विवाह, आँखा अस्पताल उद्घाटन लगायत जिल्लामा उनको विभिन्न कार्यक्रम थियो।
सोमबार काठमाडौँ फर्कने चौधरीले जानकारी दिए।
छठपछि काठमाडौँ आएका उनी केही समय यतै रहे तर समितिको बैठक नबसेपछि फेरि जिल्ला झरेका थिए।
भदौ ३१ मा संसद् अधिवेशन सकिएपछि असोज पहिलो हप्ता जिल्ला हिँडेका सांसदहरूलाई दसैँ, तिहार, छठ लगायतका छाडबाड सक्दा नसक्दै चुनावले छोयो।
चुनावमा व्यस्त भएका कतिपय सांसद अझै काठमाडौँ फर्कएका छैनन् भने कतिपय सांसद आफ्नो जिल्ला र निर्वाचन क्षेत्रको कार्यक्रमका लागि जिल्लामै छन्। जसका कारण संसदीय समितिको काम अघि बढ्न सकेको छैन। फाट्टफुट्ट केही समितिले बैठक बसाले पनि धेरैजसो समितिमा कोरम नपुग्ने समस्या देखिएको छ।
यसअघि पनि दसैँ र तिहारको बीचमा केही समितिले बैठक राख्न खोज्दा कोरम पुग्न नसकेपछि बस्न सकेन।
संघीय संसद् सचिवालयका एक अधिकारीले सांसदहरूले कानुन निर्माणको विषयलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘एउटा मात्रै होइन, संसदका अधिकांश समितिले कोरमको समस्या व्यहोरिरहेका छन्। सांसदहरूले आफ्नो पहिलो जिम्मेवारीलाई बेवास्ता गर्नु भएन नि। संसद् र समितिलाई प्राथमिकता नदिने सांसदलाई सम्बन्धित दलले पनि सचेत गराउनु प¥यो।’
शिक्षा समितिको आजको बैठकमा उपस्थित सांसदहरू
१.) रेखा शर्मा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), दाङ २
२.) संगीता मण्डल धानुक, नेपाली कांग्रेस, महोत्तरी
३.) ज्ञानु बस्नेत सुवेदी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), चितवन
४.) सुमना श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ
५.) ईश्वरी घर्ती, नेपाल कम्युनिस्ट पार्टी (एमाले), रोल्पा
६.) महिन्द्र राय यादव, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), सर्लाही २
७.) सरिता भुषाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नवलपरासी पश्चिम
८.) दीपा शर्मा, नेपाल कम्युनिस्ट पार्टी (एमाले), बाँके
९.) विनिताकुमारी सिंह, जनमत पार्टी, सिरहा
आजको बैठकमा अनुपस्थित सांसदहरू
१.) उर्मिला थेबे, नेपाल कम्युनिस्ट पार्टी (एमाले), ताप्लेजुङ (बिरामी)
२.) कालुराम राई, नेपाल कम्युनिस्ट पार्टी (एमाले), झापा
३.) डा. चन्द्रकान्त भण्डारी, नेपाली कांग्रेस, गुल्मी १
४.) छविलाल विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी (एमाले), रुपन्देही १
५.) डिगबहादुर लिम्बु, नेपाली कांग्रेस, मोरङ १
६.) डा. तोसिमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी, ललितपुर ३
७.) देवेन्द्र पौडेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), बाग्लुङ २
८.) धनराज गुरूङ, नेपाली कांग्रेस, स्याङ्जा २
९.) मनोरमा शेरचन, नेपाली कांग्रेस, रुपन्देही (बिरामी)
१०.) महेन्द्रकुमार राय, नेपाली कांग्रेस, महोत्तरी ४
११.) रामप्रकाश चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सर्लाही १
१२.) लीलादेवी वोखिम (लिम्बू), नेपाली कांग्रेस, ताप्लेजुङ
१३.) वीना जैसवाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्सा (बिरामी)
१४.) प्रभु हजरा, नेपाल कम्युनिस्ट पार्टी (एमाले), पर्सा
Shares

प्रतिक्रिया