विभिन्न वामपन्थी दल तथा नागरिक समाजका अगुवाहरूले प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध एक महिनासम्म हस्ताक्षर अभियान सञ्चालन गर्ने भएका छन्।
भोलि (मंसिर २४ गते) दिउँसो १ बजे रत्नपार्क शान्तिवाटिकाबाट अभियान सञ्चालन गर्ने ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले जनाएको छ।
संयोजक श्याम श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ मा संलग्न सबै दल र नागरिक संस्था जम्मा भएर प्यालेस्टिनी जनतामाथि इजरायली जनसंहार विरुद्ध महिनादिन लामो बृहत हस्ताक्षर अभियान प्रारम्भ गर्ने कार्यक्रमको शुरुवात’ गर्ने जनाएका छन्।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल एवं बाबुराम भट्टराई, भूपू उपप्रधान मन्त्री उपेन्द्र यादव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा नागरिक आन्दोलनका अगुवाहरूको सहभागिता रहनेछ।
सोही कार्यक्रमबाट देशब्यापी हस्ताक्षर अभियानको विधिवत प्रारम्भ हुने संयोजक श्रेष्ठले बताएका छन्।
Shares

प्रतिक्रिया