कास्की प्रहरीले सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि छविलाल बन्जाडेलाई पर्सा पठाएको छ।
आइतबार नै उनलाई पर्सा पठाएको कास्की प्रहरीले जानकारी दिएको छ।
बन्जाडेसँगै हिरासतमा रहेका उनका अंगरक्षक रामप्रसाद खनाललाई पनि पर्सा पठाइएको छ। आजै रातिसम्म वीरगन्ज ल्याइपुर्याउने जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोद ढुंगेलले नेपालखबरसँग बताए।
आइतबार कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रवि लामिछानेसहितलाई ४ दिन हिरासतमा राख्न म्याद थप गरिदिएको थियो।
जीबी राई समूहले सञ्चालन गरेका देशका ठूला ५ सहकारी ठगी प्रकरणमा उनका व्यावसायिक साझेदारहरू रवि लामिछाने र छविलाल बन्जाडे प्रहरीको नियन्त्रणमा छन्। उनीहरूसँग पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा बयान लिइसकिएको छ।
गत मंगलबार काठमाडौँबाट चितवन लगिएका लामिछानेलाई त्यहाँ २ दिनसम्म बयान लिएर बुधबार राति पोखरा लगिएको थियो।
वीरगन्जको सानो पाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रवि र छवि सञ्चालक रहेको ८ करोड रूपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा गएको संसदीय छानबिनले देखाएको छ।
यस प्रकरणमा जीबी राईलाई पहिलो चरणमै प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिसकिएको छ। दोस्रो चरणको अनुसन्धानमार्फत अब रवि लामिछाने, छविलाल बन्जाडेसहितलाई प्रतिवादी बनाउने प्रहरीको तयारी छ।
छविको बयान सकिएपछि रविलाई वीरगन्ज ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया