राजनीति


नेपालका विभिन्न परियोजनामा ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपालका विभिन्न परियोजनामा ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १९:११, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा विभिन्न विकास परियोजनाका लागि ९ अर्ब रूपैयाँ अनुदान घोषणा गरेका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटवार्तापछि राष्ट्रपति सीले यो घोषणा गरेका हुन्।

भेटपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार, उक्त भेटका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई ५० करोड आरएमबी (करिब नौ अर्ब रूपैयाँ) अनुदान सहयोग घोषणा गरेका छन्।

मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको थियो। त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

देउताइ त्यहाँको सरकारी अतिथिगृह हो, जहाँ प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पनि बसाइ रहेको छ।

भेटवार्ताका क्रममा दुवै देशका प्रतिनिधिमण्डल सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए।

मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा भेट भएको थियो। त्यस क्रममा द्विपक्षीय सहकार्यका विभिन्न ९ वटा दस्तावेजमा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad