राजनीति


माओवादीका सिट थपिएपछि प्रचण्डले भने- एक्लै चुनाव लड्ने जनादेश प्राप्त

माओवादीका सिट थपिएपछि प्रचण्डले भने- एक्लै चुनाव लड्ने जनादेश प्राप्त

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १४:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध आफूले अघि सारेका एजेन्डा उपनिर्वाचनबाट अनुमोदित भएको बताएका छन्।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले मतदातालाई आभार प्रकट गर्दै आफूले अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका हुन्।

‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ प्रचण्डले विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ। यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’

‘हाम्रो पार्टीले यस निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पको रूपमा लिएको थियो। खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रूपमा लिनेछ। यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।’    

 उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्णरूपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad