राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान काठमाडौँबाट चितवन पुर्याइएको छ।
चितनवस्थित सहारा चितवन सहकारी ठगी आरोपमा बयान लिन पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई चितवन लगिएको हो।
चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले दिएको जानकारीअनुसार लामिछाने केही बेरअघि चितवन अवतरण गरिसकेका छन्।
‘अब उनलाई चितवन जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला सरकारी वकिलको कार्यालयमा लगी आजै बयान थाल्ने तयारी छ’, डीएसपी रिजालले नेपालखबरसँग भने।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन गत बिहीबार (मंसिर १३ गते) काठमाडौँ ल्याइएको थियो।
कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग प्रहरीले शुक्रबारदेखि (शनिबारबाहेक) सोमबारसम्म ३ दिन बयान लिएको थियो।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भइसकेको छ। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो।
Shares

प्रतिक्रिया