केही वर्ष अघिसम्म सर्लाहीका किसानले खेतबारी जताततै उखु लगाउँथे। सिँचाइ हुने/नहुने सबैखाले जमिनमा विभिन्न जातका उखु रोपिन्थ्यो। हेर्दाहेर्दै चुरे भावर क्षेत्रका कुना कन्दरामा पनि उखु खेती बिस्तार भयो।
उखु बिक्रीका लागि हरिवनमा देशकै ठूलो इन्दु शंकर चिनी उद्योग छँदै थियो। नजिकै उद्योग भएकाले किसानलाई उखु ढुवानी गर्न पनि सजिलो र सस्तो पर्थ्याे।
तर, लगातार उखु लगाउँदा माटोको उर्बरा शक्ति घट्दै गयो। उद्योगीले पनि मूल्यमा किसानलाई ठग्न थाले। उत्पादन लागत नउठ्ने र तोकिएकै मूल्य पनि समयमै नपाउने समस्याले किसान पिरोलिँदै गए। बिस्तारै अवस्था यस्तो बन्यो कि, नगदे बाली भनिएको उखु खेतीबाट किसानले हात झिक्नुपर्ने अवस्था सिर्जना भयो।
पछिल्लो समय सर्लाहीका किसानले उखु खेती मास्दै लगेका छन्। त्यसको उदाहरण हो, अहिले पहेँलपुर देखिएका तोरीबारी। उखु खेती मास्दै गएका सर्लाहीका किसान बिस्तारै तोरीसहितका रैथाने अन्नबालीतर्फ फर्किन थालेका छन्।
चार/पाँच वर्षयता सर्लाहीका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर, हरिपुर, बरहथवालगायत ठाउँका किसान तोरीसहितका परम्परागत खेतीतर्फ फर्किन थालेका छन्।
उखु लगाउँदा अन्य बाली लगाउन नमिल्ने। फेरि उखुमा उत्पादन लागन नै बढी पर्ने। उखुबाट लगानीसमेत नउठेर निरास भएका किसानले पछिल्लो समय तोरी, धान, मकै गहुँ, बोडी, मास, कोदो जस्ता अन्नबाली र तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका छन्।
सर्लाहीका किसानले धान, मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन्। तोरीभित्र चना, मुसुरो, रहरीजस्ता दलहन बाली पनि लगाउन मिल्छ। अहिले सर्लाहीका किसानका खेतबारी तोरी फुलेर पहेँलै भएका छन्।
तोरी, चना भित्र्याएपछि खेतबारी बर्खे मकै खेतीका लागि तयार पारिन्छ। तीनबाली लगाउँदा किसानले उखुबाट भन्दा दोब्बर बढी आम्दानी गर्दै आएका छन्।
किसानले उखु खेती मास्दै गएपछि सर्लाहीका चिनी उद्योगले भने केही वर्षदेखि भनेजति उखु पेल्न पाएका छैनन्। यसले चिनी उद्योगको स्थायित्वमै संकट सिर्जना हुँदै गएको छ।
एक दशक अघिसम्म एक सिजनमा ५० लाख क्विन्टल भन्दा धेरै उखु पेल्ने सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेस्ट चिनी उद्योले केही वर्षयता वर्षमा मुस्किलले २५/३० लाख क्विन्टल उखु मात्र पेल्ने गरेका छन्।
लगानीसमेत नउठेपछि आफूले पनि उखु खेती मासेको सर्लाहीको हरिवन-८ का युवा किसान हरि निरौलाले बताए।
‘उखुमा लगानी अनुसारको मूल्य नपाएपछि मैले पनि उखु खेती मासेँ,’ निरौलाले भने, ‘यताका सबैजसो किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै कोदो जस्ता परंपरागत अन्नबाली लगाउँन थालेका छन्।’
दुई दशक अघिसम्म सर्लाही तोरी खेतीमा अब्बल जिल्लाको रुपमा गनिन्थ्यो। हरिवनमा चिनी उद्योग स्थापना भएपछि यहाँका किसानले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए। झण्डै २० वर्षपछि यहाँका किसान पुनः उखु मासेर पुरानै खेतीमा फर्किएका हुन्।
‘किसानले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो,’ निरौलाले भने, ‘अहिले तोरी झार्नेबित्तिकै क्विन्टलेको १५ हजारका दरले बिक्री हुन्छ। जग्गाजमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन्। थोरै जमिन हुनेहरुले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन्।’
थोरै लगानी गर्दा पनि मनग्गे आम्दानी हुने भएपछि किसानले तोरी खेती बढाउन थालेका हुन्। सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुने गरेकाे किसानकाे भनाइ छ।
हेर्नुहोस् ताेरी खेतीका थप तस्बिर











तस्बिर साैजन्य: ललिता निराैला
Shares

प्रतिक्रिया