कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धन गत आमनिर्वाचनमा जसरी बहुमत हासिल गर्न असफल भएको थियो, दुई ठूला दल कांग्रेस–एमालेबीचको गठबन्धन पनि त्यसैगरी रुकुम पूर्वमा असफल भएको छ।
दुई ठूला दलबीचको गठबन्धनका बाबजुद रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको रुख चुनाव चिन्ह लिएकी एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई भारी मतान्तरले पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार नरपुरा घर्ती उपाध्यक्षमा विजयी भएकी छन्।
विजयी माओवादी उम्मेदवार घर्तीले ३ हजार ६ सय २७ मत प्राप्त गरेकी छन् भने पराजित कांग्रेस–एमाले उम्मेदवार तुलाचनलाई २ हजार १ सय २८ मतमात्र प्राप्त भएको छ।
कांग्रेसको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेकी एमालेकी तुलाचनले गत निर्वाचनमा कांग्रेस उम्मेदवारले प्राप्त गरेको भन्दा १ सय १८ मतमात्र बढी प्राप्त गर्न सकिन्।
जबकी त्यहाँ गत निर्वाचनमा उपाध्यक्षका एमाले उम्मेदवारलाई १ हजार ८ सय भन्दा बढी मत प्राप्त भएको थियो।
माओवादी केन्द्रकी स्व. भूपेन्द्रा बुढा ४०५९ मत पाएर निर्वाचित भएको सो निर्वाचनमा कांग्रेस उम्मेदवार कमलाकुमारी मल्ल २ हजार १० मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन्।
तेस्रो स्थानमा रहेकी एमालेकी धर्म घर्ती बुढालाई १ हजार ८ सय १२ मत प्राप्त भएको थियो। यहाँ कांग्रेस र एमाले उम्मेदवारको जोड–मत ३ हजार ८ सय २२ थियो।
यस हिसावले गत निर्वाचनको तुलनामा पुथाउत्तरगंगामा कांग्रेस–एमालेको १ हजार ६ सय ९४ मत घटेको देखिएको छ। त्यसो त २०७९ को तुलनामा यो उपनिर्वाचनमा माओवादीको मतपनि घटेको देखिएको छ।
तर, कांग्रेस–एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीले आफ्नो शाख राम्रैसँग जोगाएको छ।
रुख चिन्ह लिएर पराजित भएकी तुलाचन एमाले रुकुम पूर्वकी उपसचिव हुन् भने एमाले सम्बद्ध अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पनि हुन्।
‘चुनाव जित्न’ कै लागि कांग्रेसको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने उनको निर्णयले उनको ‘राजनीतिक स्वाभिमान’ माथि प्रश्न उठेको थियो नै, चुनाव चिन्ह ‘लेनदेन’ गर्ने निर्णयले कांग्रेस–एमालेको ‘राजनीतिक इज्जत’ मा पनि धब्बा लागेको थियो।
तर, यसका बाबजुद पुथा उत्तरगंगा गाउँपालिकाले कांग्रेस–एमाले गठबन्धनलाई रुचाएन।
पुथा उत्तरगंगाको गाउँपालिकामा खालि रहेको वडा नं २ को वडाध्यक्ष पदमा पनि कांग्रेस–एमालेले गठबन्धन गरेका थिए। त्यहाँ एमाले जिल्ला कमिटी सदस्य जीवन रोका उम्मेदवार थिए।
तर, उनले पनि ५ मंसिरमा उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
Shares

प्रतिक्रिया