दोलखाको गौरीशंकर गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।
आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा माओवादीकी उम्मेदवार निमलेकी शेर्पा करिब ४ सय मतान्तरले अघि लागेकी हुन्।
निमलेकीको पक्षमा ८ सय ९ मत प्राप्त भएको छ भने उनलाई एमालेकी उम्मेदवार उमा मगर शेर्पाले पछ्याइरहेकी छिन्। उनको पक्षमा ४ सय ४७ मत प्राप्त भएको छ।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा २ सय ४० मत प्राप्त भएको मुख्यम निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी गौरीशंकरमा रास्वपाको गोमा श्रेष्ठले १८ मत ल्याएकी छिन्।
गौरीशंखर गाउँपालिकाका तत्कालिन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो।
उनी नेपाली कांग्रेसको तर्फबाट गौरीशंखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।
यसअघि कांग्रेसबाट निर्वाचित गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएपछि त्यहाँ निर्वाचन भएको हो।
०७९ को निर्वाचनमा गौरीशंकरको अध्यक्षमा माओवादीबाट विश्वास कार्की निर्वाचित हुँदा कांग्रेसबाट तामाङ विजयी भएका थिए। यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको थियो।
कांग्रेसका तामाङले उपाध्यक्षमा ४ हजार ७ सय ४१ मत ल्याएर निर्वाचित हुँदा एमालेबाट उम्मेदवार बनेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन्।
गत निर्वाचनमा प्राप्त मत नतिजा हेर्दा यहाँ माओवादी केन्द्र पहिलो शक्तिको रुपमा देखिन्छ। अध्यक्षसहित वडा नम्बर १, २, ३, ७ र ८ माओवादीले जितेको छ। कांग्रेसले ४, ६ र ९ जितेको छ भने एमालेका उम्मेदवारले ५ नम्बर वडामा मात्रै जित निकाल्न सकेका छन्।
Shares

प्रतिक्रिया