राजनीति


प्रधानमन्त्री ओली भोलि बिहान चीनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली भोलि बिहान चीनको औपचारिक भ्रमणमा जाँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०८१ आइतबार १८:२२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि (सोमबार) बिहान बेइजिङ प्रस्थान गर्दै छन्।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चार दिने भ्रमणमा जान लागेका हुन्। बिहान ११ गते उनी हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट बेइजिङ जानेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार, आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। 

उनले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ। 

प्रधानमन्त्री ओलीका साथमा उनकी श्रीमती राधिका शाक्य पनि रहनेछिन्। यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनेछन्।

प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्कने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad