प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरूको कमी नभएको टिप्पणी गरेका छन्।
२०७२ सालयता एमाले नेतृत्वको सरकारले तीव्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको तर ‘लाजसरम नभएका बेइमान र झुटका खेती गर्नेहरूले भ्रम छर्ने गरेको’ उनले जिकिर गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ सालयता मुलुकमा आमूल परिवर्तनको काम सुरु भए पनि त्यो पर्याप्त नभएको पनि उनको भनाइ थियो।
उनले मुलुकमा कृषि क्षेत्रको आमूल परिवर्तन गर्नका लागि सरकारले ठोस कार्यक्रमका साथ अघि बढ्ने पनि बताए।
उनको भनाइ थियो, ‘२०७२ सालभन्दा यताको अवधि भनेको तीव्र गतिका साथ देशलाई विकासको बाटोमा अगाडि बढाउन खोजिएको, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन खोजिएको अवधि हो। तर तपाईँ हामी सबैलाई थाहा छ– कस्ताकस्ता शक्ति कतितिरबाट लागेका छन्? कति झुटको खेती गर्दछन्? कति बेइमानी कुराहरू फैलाउँछन्? लाजसरम कति छोड्न सक्छन्, त्याग्न सक्छन्? तर पनि हामी एउटा ठूलो रिभोलुसन गरिराखेका छौँ। तर रेभोलुसन पुगेको छैन। खासगरी कृषि क्षेत्रमा रेभोलुसन पुगेन।’
२०५१ सालबाट एमालेले राष्ट्र निर्माणको अभियान सञ्चालन गरेको र अहिले समृद्धिको अभियानलाई तीव्रता दिएको प्रधानमन्त्री ओलीको दाबी थियो।
Shares

प्रतिक्रिया