नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले सत्तारुढ दलका मान्छेहरुले नक्कली खोर देखाएर करोडौं रुपैयाँ खाइरहेको तर वास्तविक किसानले भने कुनै पनि सुविधा नपाएको दाबी गरेका छन्।
‘हामीले के देख्यौं भने राज्यले कृषिसम्बन्धी थु्रप्रै सुविधा पनि दिएको छ। तर, गरिब किसानलाई थाहा पनि छैन,’ शनिबार काठमाडौँमा नेकपाले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘केमा सुविधा छ, के मा छैन जनतालाई थाहा छैन। यतिसम्म छ कि राज्यमा बसेका पार्टीहरूका मान्छेहरुले नक्कली बिल बनाएर बाख्राको सुविधा खाइरहेका छन्। माछा पालनको सुविधा खाइरहेका छन्। उनीहरूले नक्कली खोर देखाएर करोडौं रुपैयाँ हिनामिना गरिरहेका छन्। प्रत्यक्ष देखिन्छ यो कुरा। तर, बास्तविक किसानले कुनै सुविधा पाएको छैन। त्यो पीडामा नेकपा पनि छ अहिले।’
विप्लवले आफूहरु खेती किसानीमा लागिरहेको भन्दै यो वर्षदेखि आलु खेती समेत गर्न थालेको बताए। उनले भने, ‘नेकपा अहिले किसान जस्तो पार्टी भएको छ। हामीले धान उत्पादन गर्यौं। तोरी उत्पादन गर्यौं। र, यो वर्ष हामी आलु उत्पादन पनि गर्दैछौं।’
नेकपाले दाङ, कपिलस्तु लगायतका ८० ठाउँमा सामूहिक खेती गरिरहेको छ। अहिले करिब ३०० रोपनीमामा खेती गरिरहेको नेकपाको दाबी छ।
Shares

प्रतिक्रिया